गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले बिच बुधवार भेटवार्ता भएको छ। 
नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन्। 
भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतङ्कवादी आक्रमण घटनाको निन्दा गरे। मन्त्री लेखकले उक्त घटना दुखद भएको भन्दै आतङ्कवादी हमलाविरुद्धको घटनामा नेपाल सरकार छिमेकी मित्र भारतसँगै रहेको बताए।
मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौँ देखिको मित्रवत् सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेसँग कुराकानी भएको बताए। 
सो भेटका अवसरमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले दुई देश बिचको सम्बन्ध थप सुदृढ गर्दै लैजाने विश्वास व्यक्त गरे। ‘नेपाल–भारतबिचको सम्बन्ध दृढ छ।’ उनले भने, ‘कुनै पनि विषयले मित्रवत् सम्बन्धमा असर पर्दैन।’
मन्त्री लेखकले कश्मीर घटनामा एक नेपाली युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना समेत व्यक्त गरे। 
विदेश विभाग प्रमुख चौथाईवालेले नेपालको लोकतन्त्र सुदृढीकरणमा भारतीय जनता पार्टीको पूर्ण सहयोग रहने धारणा व्यक्त राखे।