तर प्रश्न भनेको यो होः
के अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई विद्यालयमा शिक्षा दिन पठाउने कि अपाङ्गता बोक्ने जोखिम मोल्न ? विद्यालयहरू केवल पढाइको केन्द्र मात्र होइनन् – ती बच्चाहरूको सुरक्षा, संरक्षण र समग्र विकासको जिम्मेवारी बोकेका संस्था हुन्। यस्तो घटनाले अभिभावकहरूमा भय सिर्जना गर्नु स्वाभाविक हो।
बेलबारी–९ मा अवस्थित डाँगिहाट लिटिल बुद्ध स्कुलमा हालै घटेको एक गम्भीर घटनाले विद्यालयको सुरक्षा, शिक्षकको आचरण र प्रशासनको जिम्मेवारीप्रति गम्भीर प्रश्नहरू उठाइरहेको छ। कक्षा अवधिमा प्रिन्सिपल मनी तामाङ स्वयंले भाटाले हानेको क्रममा अर्को विद्यार्थीको आँखामा चोट लाग्दा ती विद्यार्थीले दृष्टि नै गुमाएका छन्।
चिकित्सकहरूको अनुसार, यद्यपि विद्यार्थीको अपरेशन सम्भव छ, उनी अब १०० मिटरभन्दा टाढा केही देख्न सक्दैनन्। पीडितका आमाका अनुसार सुरुमा विराटनगरस्थित तापरिया आँखा अस्पतालमा उपचार गराइएको थियो, तर अवस्था गम्भीर भएपछि उनलाई काठमाडौँको तिलगंगा आँखा अस्पताल लगिएको हो। अस्पतालले जेठ २२ गते अपरेशनको समय दिएको छ।
विद्यालयले उपचार र पढाइको जिम्मेवारी लिएको छ
घटनालगत्तै विद्यालय प्रशासनले अभिभावकलाई समन्वयन गरी अस्पताल लागिएको जनाइएको छ। विद्यालयले जिम्मेवारी बहन गर्ने घोषणा गर्दै पीडित विद्यार्थीलाई “जति पढ्न चाहन्छन्, सबै पढाइको जिम्मा विद्यालयले लिने” निर्णय सुनाएको छ। स्थानीयले यो कदम सराहनीय भए पनि धेरैले यो घटनाप्रति विद्यालयले अपराध गरेको हो र विद्यालयले यो स्विकार्नु पर्छ बत्ताउँछन्। उक्त घटनालाई भने विद्यालय प्रशासनले स्वीकारेका छन्।
पीडितको सङ्घर्ष र साहस
विद्यार्थीले यति गम्भीर अवस्थाबीच पनि नगरपालिका स्तरीय कक्षा ८ को परीक्षा दिएका थिए, जसमा उनले एक विषयमा कम्पार्ट पाए। यस्तो विषम परिस्थितिमा पनि उनी परीक्षामा सहभागी हुनु उनको साहस, सङ्कल्प र शिक्षाप्रति दृढ इच्छाशक्तिको प्रतीक हो।
पीडितका पिता विगत १३ वर्षदेखि मलेसियामा श्रमिकका रूपमा कार्यरत छन्। परिवारको आर्थिक अवस्था सामान्य छ, र यस्तो घटनाले उनीहरूको जीवन थप कठिन बनाएको छ।
यस्ता घटनाबाट विद्यालयलाई पर्ने असर
सुरक्षाप्रति गम्भीर प्रश्न
विद्यालयमा बालबालिका कति सुरक्षित छन् ?– अभिभावकहरूमा अब आफ्ना छोरा छोरीलाई विद्यालय पठाउँदा द्विविधा उत्पन्न हुनु स्वाभाविक भएको छ।
विद्यालयको छविमा धक्का
यस्तो घटनाले विद्यालयको प्रतिष्ठा धुमिल मात्र बनाएको छैन, सामाजिक सञ्जाल र स्थानीय मञ्चहरूमा समेत नकारात्मक धारणा बलियो बनाएको छ।
अनुगमन प्रणालीमा कमजोरी देखिएको
शिक्षा शाखा र पालिकाको नियमन प्रणालीमा प्रश्न उठेको छ। विद्यालयहरूले सुरक्षा मापदण्ड पालना गरेका छन् वा छैनन् भन्नेबारे पुनः मूल्याङ्कन आवश्यक देखिन्छ।
घटनाको गम्भीरता बुझेपछि विद्यालयले जिम्मेवारी लिएको निर्णय सकारात्मक सङ्केत हो। तर, यसले अघिल्लो लापरबाही र असंवेदनशीलता पूर्ण रूपमा पखाल्न सक्दैन। अबको आवश्यकता हो – शिक्षासँगै ‘सुरक्षा’ लाई समान प्राथमिकता दिने शिक्षा प्रणालीको विकास। बच्चाहरू विद्यालयमा केवल पढ्न होइन, सुरक्षित रूपमा हुर्किन र बाँच्न पनि आउने हो – त्यसका लागि सबै सरोकारवालाहरू सजग, उत्तरदायी र मानवीय बन्न जरुरी छ।