सुनसरीको धरान-६ स्थित पाँचकन्या सामुदायिक वन क्षेत्रमा सोमबार दिउँसो फेला परेको एक महिलाको शङ्कास्पद शवको पहिचान खुलेको छ।
मृतक धनकुटाको महालक्ष्मी नगरपालिका-२ माइती भई हाल इटहरी २, हलगडामा बसोबास गर्दै आएकी ३४ वर्षीय चुनकुमारी दाहालको रहेको खुलेको प्रहरीले बताएको छ। मृतक महिलाको १४ वर्षीय छोरा रहेको साथै श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेको जनाइएको छ।
शव फेला परेको स्थानमा गरिएको प्रारम्भिक अनुसन्धानमा आपराधिक गतिविधि भएको आशङ्का गरिएको छ। प्रहरी घटनास्थलमा पुग्दा महिलाको शरीरमा चोट पटक देखिएको र कपडा समेत अव्यवस्थित अवस्थामा रहेको प्रहरीको भनाई छ।
प्रारम्भिक अनुसन्धानमा शव केही मिटर घिसारिएको जस्तो देखिएको छ। अनुहारमा चोट देखिएको छ तर धारिलो हतियार प्रयोग गरिएको प्रमाण फेला परेको छैन।
शव घिसारिँदा कपडा खुलेको हुन सक्ने प्रहरीको अनुमान छ। प्रहरी अनुसार शव शङ्कास्पद अवस्थामा शव फेला परेको छ। घटनाको यथार्थ पत्ता लगाउन अनुसन्धान जारी छ। महिलाको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ।