नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि बैठक आयोजना गरिएको बताएका छन्। 
बुधवार सतापक्षीय राजनीतिक दलको बैठकपछि उनले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि बैठकको आयोजना गरिएको भन्दै बैठकमा मुख्य मुख्य विषयहरूको बारेमा महत्त्वपूर्ण सुझावहरू आएको बताए। 
उनले भने, ‘आजको बैठक राष्ट्रपतिको तर्फबाट नेपाल सरकारको आर्थिक वर्ष २०८२, ८३ को वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि आयोजना गरिएको थियो। सत्ता सहयात्री दलहरूले यो वर्षको नीति आगामी वर्षको नीति कार्यक्रममा समेट्नु पर्ने मुख्य मुख्य विषयहरूको बारेमा महत्त्वपूर्ण सुझावहरू दिनु भएको छ।’
यस्तै, युवा पुस्तामा आशा र विश्वास जगाउनको लागि उद्यमशीलता, सिप विकास, व्यावसायिक योजना र बजार संरक्षणको एउटा समग्र योजना सहितको कार्यक्रमहरू आउनु पर्ने सुझाव आएको पनि बताए।
उनले भने, ‘युवा पुस्तामा आशा र विश्वास जगाउनको लागि उनीहरूमा उद्यमशीलता, सिप विकास, व्यावसायिक योजना र बजार संरक्षणको एउटा समग्र योजना सहितको कार्यक्रमहरू आउनु पर्छ भन्ने सुझाव पनि आएको छ। अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकारको खर्च गर्ने 
क्षमता बढाउने अनावश्यक र फजुल खर्चहरूलाई कटौती गर्ने र सरकारको कार्य क्षमतालाई बढाउने कुराहरू पनि आएको छ।’ 
उनले शिक्षकहरूसँगको वार्ता सकारात्मक तरिकाले अगाडि बढेको भन्दै आज दिनभरमा सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएर भोलीदेखि सहज तरिकाले पठनपाठन हुने वातावरण निर्माण हुने बताए।
विगतको भन्दा राम्रो र परिवर्तन गर्न सक्ने खालको नीति तथा कार्यक्रम आउने र बजेटलाई त्यही हिसाबले अगाडि बढ्नुपर्छ भन्ने सुझाव आएको उनको भनाई छ।