जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले पहिचानवादी शक्तिहरू एक ठाउँमा नआओस् भन्नको लागि नाउपा संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको बताएका छन्। 
उनले प्रज्ञा भवन कमलादीबाट आज हुने भनिएको पार्टी एकता सभा रोकिएको जानकारी गराउँदै एकीकरण हुन नदिनलाई यो कार्य गरिएको बताएका हुन्। 
‘तत्कालीन अवस्थामा हामीलाई एकीकरण हुन नदिनलाई यो कार्य गरिएको भन्ने हामीले बुझेका छौँ। यो देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआओस् भन्ने ठुलो सन्देश गएको छ। हामी यसको भर्त्सना पनि गर्छौ र अब के गर्ने भन्ने कुरा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका शीर्ष नेताहरू बसेर अगाडिको छलफल  बढाउँछौ।’ उनले भने।
उनले अर्का पार्टीको संरक्षक नै पक्राउ परेपछि एकता प्रक्रियालाई अगाडि बढाउनलाई उपयुक्त नदेखिएको भन्दै कार्यक्रम स्थगित भएको जानकारी गराए। उनले सरकारले थारु मधेसी एक हुन नदिन आजको घटना घटाएको भन्दै एकता प्रक्रिया नरोकिने पनि बताए। 
उनले भने, ‘राज्यले पहिचानवादीहरू, थारु, मधेसीहरू, सीमान्तकृत वर्गहरू एक ठाउँ नआउन् भन्ने धारणाले यो नै घटना भएको हो। एकता प्रक्रिया रोकिँदैन तत्कालको लागि स्थगित भएको मात्र हो। भइरहेको समस्या बुझेर यसलाई अगाडि कसरी लाने छलफल गरी यो एकता गरी छाड्छौ। आज ढिलो हुने कारण प्राविधिक थियो त्यसमा अरू कारण केही थिएन।’