मोरङको उर्लाबारीमा मंगलबार बिहान ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ। 

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उर्लाबारी नगरपालिका–५ स्थित तरुण चोकमा उर्लाबारी–मधुमल्ला सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १६४२ नम्बरको ट्याक्टरबाट खसेर उर्लाबारी–६ निवासी २० वर्षीय देवेन्द्र मगरको मृत्यु भएको हो।

बिहान करिब ७ः१० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका मगरलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो। तर, अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक झापाको दमक नगरपालिका–४ निवासी १९ वर्षीय बुद्ध तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।