बेलबारी–३ निवासी तथा रेड भेलभेट बेकरिका सञ्चालक अजित भगतले बेलबारीका क्रिकेट खेलाडीहरूलाई नगद सहयोग गरेका छन्।
क्रिकेट खेलाडी समेत रहेका भगतले खेल सामाग्रीको अभावका कारण अभ्यासमा कठिनाइ भोगिरहेका स्थानीय खेलाडीहरूको अवस्था बुझी, उनीहरूलाई सहयोग स्वरूप नगद १५,००० रुपैयाँ प्रदान गरेका हुन्।
भगत बैशाख ५ देखि ११ गतेसम्म बेलबारी नगर खेलकुद विकास समितिद्वारा संचालन भएको पहिलो बेलबारी प्रिमियर लिग (BPL) टि-२० क्रिकेट प्रतियोगिताका संयोजक समेत थिए। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराएका उनले क्रिकेटप्रतिको लगाव र स्थानीय प्रतिभाको विकासप्रति देखाएको प्रतिबद्धता स्वरूप यो सहयोग गरेको जानकारी दिएका छन्।
भगतले खेलाडीहरू अभ्यास गर्न सकून् र उनीहरूलाई आवश्यक खेल सामाग्रीको अभावले रोक नलगाओस् भन्ने उद्देश्यले मैले यो सानो प्रयास गरेको जानकारी दिए।
स्थानीय खेलाडी र खेलप्रेमीहरूले भगतको यस सहयोगलाई सकारात्मक रूपमा लिएका छन् र आगामी दिनमा पनि यस्ता सहयोग र प्रेरणा मिलिरहने अपेक्षा व्यक्त गरेका छन्।