उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले निस्वार्थ सेवा भाव र समाजको हित नै राजनीतिको धर्म भएको बताएका छन्। 
बुधवार स्याङ्जामा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बोल्दै उनले राजनीतिमा सेवा भावले काम गर्नु नै राजनीतिको धर्म भएको बताएका हुन्। 
मानव समाजलाई सुव्यवस्थित अगाडी बढाउन कानुन नभएका बेला धर्मले गर्न हुने र नहुने भनेका कुरालाई नै मानिसहरूले कानुनका रूपमा पालना गरेर समाज अहिलेको अवस्थामा आइपुगेकाले धर्मको महत्त्व विशिष्ट रहेको बताए। 
‘समाजलाई अगाडी बढाउने क्रममा धर्मसँग हामी संलग्न छौँ। धर्मले गर्न हुने र नहुने कामलाई मानिस आफैले छुट्याएर समाजलाई राम्रो हुने काममा अघि बढ्न सिकाएको छ,’ उनले भने, ‘धर्ममा लागू हुने नीति र जुन मान्यता छ। त्यो समाजको हरेक अरू पक्षमा पनि लागू हुन्छ। व्यापारमा पनि धर्म हुन्छ। उद्योगपतिको नि धर्म हुन्छ। विभिन्न व्यवसायमा लागेकाहरूको पनि धर्म हुन्छ। राजनीति गर्नेहरूको पनि धर्म हुन्छ। समाजलाई हित हुने काम हामीले गर्नुपर्छ। सेवाभाव र समाजको हित हुने काम गर्नु नै राजनीतिको धर्म हो।’ 
उनले भक्तजनका लागि धर्मशाला बनाउने उद्देश्यले महायज्ञ लगाइएको भन्दै सहरी विकास मन्त्रालयले गर्न सक्ने काम गर्ने प्रतिबद्धता पनि जनाए।   
त्यस्तै, उपप्रधानमन्त्री सिंहले पार्टी प्रतिबन्धित रहेका बेला ०४२ सालभन्दा अगाडी सत्याग्रहको तयारीका बेला गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवासहित गोपालमान श्रेष्ठको घरमा पार्टी अधिवेशन र सत्याग्रहको तयारीका लागि पुगेको भन्दै पुरानो दिनको सम्झना गरे।