संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मिथिला सभ्यता र संस्कृतिको पुन जागरणमा मन्त्रालय पूर्ण रूपमा कटिबद्ध रहेको बताएका छन्। 
शनिवार काठमाडौँमा जानकी नवमीको अवसरमा आयोजित ‘सीता प्राकट्य दिवस समारोह’ नामक कार्यक्रममा उनले सङ्घ, प्रदेश, स्थानीय तह, समुदाय र विश्वविद्यालयको सामूहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिने भन्दै यसको लागि मन्त्रालय पूर्ण रूपमा कटिबद्ध रहेको बताए। 
उनले भने, ‘मिथिला सभ्यता र संस्कृतिको पुन जागरणमा सबै पक्षको महत्त्वपूर्ण भूमिका रहनुपर्छ। सङ्घ, प्रदेश, स्थानीय तह, समुदाय र विश्वविद्यालयको सामूहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिन्छ। यसको लागि हाम्रो मन्त्रालय पूर्ण रूपमा कटिबद्ध रहेको कुरा व्यक्त गर्न चाहन्छु। मिथिला संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न हाम्रो साझा दायित्व हो र मन्त्रालय यस संस्कृतिको वैभव पुन फर्काउने गरी काम गरिरहेको छ।’
यस्तै, उनले मिथिला, किराँत, नेवा, खस जस्ता समृद्ध सभ्यता र संस्कृतिको आधारभूमि देश नेपाल भएको भन्दै यी गौरवमय सभ्यता र इतिहासले नेपाललाई सांस्कृतिक रूपमा सम्पन्न बनाएको बताए। 
उनले भने, ‘मिथिला र यसको राजधानी जनकपुरधामको इतिहास गौरवमय छ नेपाल राज्यको विशेषता यही हो कि यसमा मिथिला, किराँत, नेवा, खस जस्ता समृद्ध सभ्यता र संस्कृतिको आधारभूमि हाम्रो देश हो। यी गौरवमय सभ्यता र इतिहासले नै हामीलाई सांस्कृतिक रूपमा सम्पन्न बनाएका छन्।’ 
मिथिला संस्कृतिले बोकेको सभ्यता र विभिन्न आयामहरू आफैमा अनुकरणीय र निकै महत्त्वपूर्ण रहेको पनि उनको भनाई छ। 
उनले भने, ‘मैथली भाषा नेपालमा बोलिने भाषामध्ये दोस्रो पनि हो। मलाई एकदमै मन पनि पर्छ। मिथिला सभ्यताले बोकेको सभ्यता र विभिन्न आयामहरू त्यो आफैँमा अनुकरणीय छन् र निकै महत्वका छन्। हामी सबैले सम्मान गर्नुपर्ने खालका छन्। सिता माता हाम्रो लागि आदर्श पात्रको रूपमा हुनुहुन्छ। हाम्रो इतिहास र विगतलाई हेर्दा सभ्यता र आदर्शको हिसाबले मान सम्मान गर्नुपर्ने पात्रको रूपमा पनि सिता हुनुहुन्छ।’