नेपाल स्काउट शुद्धीकरण अभियान समितिले नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यालय परिसरमा धर्ना दिएको छ।
स्काउटको निर्देशक नियुक्तिका लागि शनिबार सर्टलिस्टमा परेकाहरूलाई अन्तर्वार्ताका लागि बोलाइको समय पारेर समितिले कार्यालय परिसरमा धर्ना दिएको हो।
धर्नाको क्रममा प्रहरीसँग धकला(धकेलसमेत भएको थियो। स्काउट शुद्धीकरण समितिको संयोजक देवदूत् अधिकारीले निर्देशक पदका लागि गरिएको दरखास्त आह्वान नै गलत भएको बताए।
बहालवाल निर्देशक हुँदाहुँदै नयाँ निर्देशकका लागि दरखास्त आह्वान गरिएको उनको भनाइ छ। प्रमुख आयुक्तको विषयमा समेत अदालतमा मुद्दा विचराधीन रहेको अवस्थामा निर्देशक नियुक्त गर्न नमिल्ने अधिकारीले बताए।
निर्वाचित भएको प्रमुख आयुक्तलाई निवर्तमान युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निलम्बन गरेर आफ्नो विद्यालय (नाईटेङ्गल स्कुल) मा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई टीका लगाएर आयुक्त बनाएको उनको आरोप छ।
संयोजक अधिकारीले स्काउटभित्र भएका विकृति, विसंगति र भ्रष्टाचारलाई अन्त्यका लागि छानबिन समितिले बनाएको प्रतिवेदन सार्वजानिक गर्नुपर्ने र प्रतिवेदनको आधारमा दोषीमाथि कारबाही हुनुपर्ने पनि बताए।
स्काउटका निवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले नेपाल स्काउटको सर्वोच्च निकाय राष्ट्रिय परिषद्को बैठकले आफूलाई प्रमुख आयुक्त पदमा निर्वाचन गरे पनि तत्कालीनमन्त्री चौधरीले एक वर्ष नपुग्दै हटाएको बताए।
कानुनी प्रक्रिया नपुर्याई आफूलाई हटाएर देवराज घिमिरेलाई प्रमुख आयुक्त बनाएपछि सर्वोच्च अदालतमा मुद्दा हालेको उनले जानकारी दिए। अदालतमा मुद्दा चलिरहेको अवस्थामा निर्देशक नियुक्त गर्न नमिल्ने उनको जिकिर छ।




















