मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ गैरीगाउँमा सडक भासिँदा रोकिराखेको गाडी बेपत्ता भएको छ।​ गैरीगाउँस्थित भित्री कच्ची सडकमा शुक्रवार दिउँसो सडक भासिएर गाडी बेपत्ता भएको प्रहरीले जनाएको छ।
ना ४ च ४८३३ नम्बरको गाडी सडक भासिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए।
'गाडी पुरिएको छ, देखिएको छैन, निकाल्ने प्रयास भइरहेको भए पनि पानी र माटो झरिरहेकाले समस्या भएको छ,' उनले भने।
घटनास्थल नजिकै ठुलो माछा पोखरी रहेको र त्यही पोखरीको पानी सडक भासिएको ठाउँमा झरेकाले गाडी खोज्न समस्या भएको डीएसपी अर्यालले जानकारी दिए।'२ वटा मोटरले पानी निकालेर गाडी खोज्ने प्रयास भइरहेको भए पनि प्रयास सफल भएको छैन,' उनले भने।
शुक्रवार गाडीमा बसिरहेकै समयमा अगाडिको भाग एक्कासि भासिन थालेपछि आफू बाहिर निस्किएको चालक हरि राईले जानकारी दिएका प्रहरीले जनाएको छ।