केरा खेतीको बिस्तारसँगै रौतहटका तीन स्थानमा यसबाट बनेका परिकार खुवाउने खाजा घर सञ्चालनमा रहेको छ।
दुर्गा भगवती गाउँपालिकामा दुई वटा र ईशनाथ नगरपालिकामा एक गरी तीन वटा केराकै परिकार खुवाउने रेस्टुरेन्ट व्यवसाय सञ्चालनमा रहेको हो।
यहाँ काँचो र पाकेको केराबाट बनाना चिप्स, अचार, पकौडा, फिङ्गर चिप्स, चिल्ली, सेकुवा, समोसा, मःम, खिर, बर्फी, कस्टर, हलुवा र वाइन लगायतका परिकार बन्ने गरेको छ। प्रायः केराको परिकार खानका लागि छिमेकी पालिकासहित भारतका विभिन्न स्थानबाट मानिसहरू आउने बनाना रेस्टुरेन्टका सञ्चालकहरू बताउँछन्।
बनाना रिपोर्टका सञ्चालक राकेश गुप्ताका अनुसार केराका परिकारको माग उच्च छ। केराबाट करिब २६ प्रकारका परिकार बनाइन्छ उनले भने यहाँ आएकाहरूले सबै परिकार रुचाउँछन्। विशेष गरी केराको मःम बढी रोजाइमा परेको उनको भनाइ छ। आफूले २० कट्ठा क्षेत्रफलमा केरा खेती गरेको समेत उनले जानकारी दिए।
केरा बिक्रीसँगै रिपोर्ट सञ्चालनबाट महिनाको ३०/३५ हजार कमाइ हुने उनले बताए। केराबाट तयार भएको खाजाका प्रकार स्वास्थ्यको हिसाबले पनि फाइदा गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गर्छ। चन्द्रपुर हस्पिटलका प्रमुख डा. सुवास चौधरीका अनुसार केरा स्वास्थ्यवर्धक फल हो।
पाचन क्रियामा सुधारदेखि लिएर रक्तचाप सन्तुलन सम्मका फाइदा केराबाट प्राप्त गर्न सकिने उनको भनाइ छ। केरालाई सुपर हेल्दी फुड मानिएकाले दैनिक एक÷दुई कोसा खाँदा फाइदा हुने उनको तर्क छ।
केरा खेती प्रवर्द्धनका लागि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ। पछिल्लो समयमा केरा खेतीसँगै यसको परिकारले रौतहटलाई चिनिन थालेको छ।