वर्षौँदेखि प्रसूति सेवा लिन ६ घण्टा पैदल यात्रा गरेर स्वास्थ्य संस्था धाउने सुत्केरी महिलाहरूका लागि मुगुको दुर्गम गाउँमा बर्थिङ सेन्टर स्थापनाले खुसीयाली छाएको छ।
नार्थपु स्वास्थ्य संस्था र गमगढी बजारमा रहेको जिल्ला अस्पतालसम्म पुग्न तीन दिनसम्म लगाएर धाउने बिरामीहरू सोरुगाँउपालिकाको नेर र लिब्रु गाउँमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीय खुसी भएका हुन्।
ब्याक टु लाइफ इभी जर्मनीको आर्थिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्र मुगुको प्राविधिक तथा साझेदारीमा नेरगाँउमा निर्माण भएको सुविधा सम्पन्न बर्थिङ सेन्टरले धेरैलाई राहत दिएको छ।
सात कोठा एक तले भवन ६० लाख ८५ हजार ५ सय ७७ रुपैयाँ र लिब्रुमा रहेको पाँच कोठा सहितको दुई तले ७२ लाख २१ हजार ३ सय २९ रुपैयाँ लागतमा बर्थिङ सेन्टर स्थापना भएको हो।
विभिन्न सेवासुबिधासहित औषधी उपचारमा प्रयोग हुने लाखौँ मूल्यका सामान एवम् औजार, उपकरणसहित वर्थिङ सेन्टर सोरुगाँउपालिकालाई एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ।
गाउँमा बर्थिङ सेन्टर नहुँदा टाढा धाउनुपर्ने नभए हेलिकोप्टरमार्फत सुर्खेत, नेपालगन्ज र काठमाडौँ धाउनुपर्ने बाध्यता थियो। बर्थिङ सेन्टरको अभावमा केही वर्ष यता नेर र लिब्रु गाउँमा मात्र ६ दर्जन भन्दा बढी सुत्केरी आमाको मृत्यु भइसकेको छ।
अव गाउँ घरमा औषधी उपकरणसहित बर्थिङ सेन्टर निर्माण भई सेवा सुरु भएपछि अकाल मृत्युबाट बाँच्नुका साथै स्वास्थ्यमा सहज हुने भएकाले खुसी लागेको लिब्रु गाउँकी अंगसरा शाहीले बताइन्।
वर्थिङ सेन्टरको माग भए अनुसार सोरु गाउँपालिकामा मात्र ६ वटा वर्थिङ सेन्टर निर्माण भइरहेका छन्। चार वटा बर्थिङ सेन्टर ब्याक टु लाइफ इभीले आफ्नै कर्मचारी राखेर सञ्चालनमा ल्याएको छ। अन्य दुई वटा सेन्टर स्थानीय तहलाई हस्तान्तरण गरी पालिकाबाट सञ्चालन हुनेछन्। थप सहयोगका लागि ब्याक टु लाइफ इभीका प्रतिनिधि महेश दत्त पन्थले बताए।