मोरङको धनपालथान गाउँपालिका–३ ललिया टोलमा १ जना युवक मृत फेला परेका छन्। धनपालथान–२ का ३७ वर्षीय विजय मण्डल बुधबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ।
मण्डलको शवनजिकै उनी आफैंले चलाउँदै आएको को २१ प १६५६ नम्बरको मोटरसाइकल पनि भेटिएको छ। प्रहरीका अनुसार सडकदेखि करिब ३ मिटर तल नालामा उनी मृत भेटिएका हुन्।
स्थानीयले नालामा शव देखेपछि बिहान ६ः१५ बजेतिर प्रहरीलाई खबर गरेका थिए। मोटरसाइकल चलाउने क्रममा दुर्घटनामा परेर सडकबाट नालामा खसेपछि उठ्न नसकेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।
इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको छ। खड्का नेतृत्वकै टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।