राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गतेको आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरूको रिहाइको माग गरेका छन्।
राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवल शमशेर राणालगायत प्रदर्शनका क्रममा पक्राउ परेकाहरूको तत्काल रिहाइ गर्न उनले सरकारसँग माग गर्ने बताएका हुन्।
बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकको निर्णय सुनाउँदै उनले चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेकाहरूको तत्काल रिहाइ गर्न सरकारसँग माग गर्ने र रिहाइका लागि कानुनी एवम् राजनीतिक दुवै लडाइलाई सशक्त रूपमा अगाडि लैजाने निर्णय गरेको बताए।
उनले भने, ‘उपत्यका भित्रका सबै वडा तहसम्म सबै नेताहरू पुग्ने र सङ्गठनलाई अझै बलियो बनाउने निर्णय पनि गरेका छौँ। कार्यक्रमलाई आन्दोलन केन्द्रित बनाउने निर्णय भएको छ। पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवल शमशेर राणालगायत चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेको निर्दोष मानिसलाई तत्काल रिहाइ गर्न सरकारसँग माग गर्ने र रिहाइका लागि कानुनी र राजनीतिक दुवै लडाइँलाई सशक्त रूपमा अगाडि लैजाने निर्णय गरेको छ।’
यस्तै, उनले आन्दोलन र पार्टी सङ्गठनलाई सँगसँगै लाने भन्दै पूर्वघोषित मिति वैशाख ७ गते काठमाडौँको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय पनि गरेको बताए।
उनले भने, ‘आन्दोलन र पार्टी सङ्गठनलाई सँगसँगै लाने निर्णय गरेको छ। त्यस क्रममा पूर्वघोषित मिति वैशाख ७ गते काठमाडौँको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ। वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।’
राप्रपाका सबै आन्दोलनसँग सम्बन्धित कार्यक्रमहरूलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी समेत बनाउने निर्णय भएको उनको भनाइ छ।