सत्तारुढ दल नेपाली कांग्रेसले गठबन्धनभित्र रहेका दलहरूबीचमा समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पूर्वपदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको छलफलमा गठबन्धनमा रहेका दलहरूबीच तालमेल र सहकार्यको आवश्यकता रहेको निष्कर्ष निकालिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
उनले भने, ‘हामीले  सामान्यतया समग्र राजनीतिक परस्थितीमा पनि विश्लेषण गर्‍यौँ। शिक्षक आन्दोलनको विषयमा पनि छलफल भयो। सरकारको पर्फमेन्स अझै बेटर हुनुपर्छ। बढी गठबन्धन दलबीच समन्वय र सन्तुलन हुनुपर्‍यो भन्ने कुरा भयो। अझै सशक्त रूपमा डेलिभरी सरकारले दिनुपर्छ भन्ने विषयमा कुराकानी भयो, गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलको सबै थोक हुँदैन। समन्वयको आवश्यकता छ। सबैको कुरा समेट्नुपर्ने आवश्यकता छ।’
साथै नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेकै आधारमा सरकार नढल्ने पनि उनले बताए। प्रचण्ड प्रतिपक्षमा भएकाले सरकार ढल्दै छ भन्नु स्वाभाविक भएको बताए।
उनले भने, ‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वाभाविक धर्म नै हो, उहाँ (प्रचण्ड) ले भनेको कुरामा टिप्पणी छैन। उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन। गठबन्धन दलबीच अझै समन्वय र सन्तुलन हुनुपर्छ, अझै सशक्त रूपमा सरकारलाई लानुपर्छ।’
केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ वर्षमा सरकार ढल्ने दाबीको खण्डन गर्दै कांग्रेसले बुढानीलकण्ठमा बसेको बैठकबाट यस्तो जवाफ निकालेको हो।