रामेछापको ऐतिहासिक, धार्मिक तीर्थस्थलको रूपमा रहेको शक्तिपिठ खाँडादेवीको दर्शन गर्न आउने पर्यटकको सङ्ख्या बढेको छ।
चैत महिना लागेपछि मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्या उल्लेख्य मात्रामा बढेको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिए। चैत लागेपछि दैनिक सयौँको सङ्ख्यामा दर्शनार्थीहरु मन्दिरमा दर्शन गर्न आउन लागेका छन्। मन्दिरमा दर्शन गर्न आउनेहरूको बिहानदेखि नै भीड लाग्ने गरेको छ।
मन्दिरमा दर्शन गर्न काठमाडौँ उपत्यकाका साथै तराई, रामेछापसँग जोडिएका काभ्रे, दोलखा, ओखलढुङ्गा, सिन्धुलीका साथै इण्डियाबाट समेत दर्शनार्थीहरु आउने गरेको अध्यक्ष तामाङले जानकारी दिए।
खाँडादेवीलाई पूरानो ऐतिहासिक र धार्मिक महत्वको शक्ति पीठ मानिन्छ। यो मन्दिरमा विसं १२४० चढाएको चाँदीको जन्तर फेला परेको विकास कोषको भनाइ छ। तथापि त्यसको पुरातात्त्विक पुष्टि हुन बाँकी छ। वि.सं १५७३ मा मन्दिरमा चढाइएको घण्ट भने सुरक्षित छ। वि.सं १५१५ माघ १५ गते खाँडादेवीको शिला फेला परेको भन्ने भनाइ रहँदै आएको छ।
शिवपुराणको हिमवत् खण्डमा रोशमती (रोशी) र सुनकोशी नदीको सङ्गम कुशेश्वरमा देवीले शुम्भ र निशुम्भ नामका राक्षसलाई वध गरी दुर्गा नदीमा खड्ग पखाली खाँडादेवीमा खड्ग गाडेर कालिञ्चोकमा अन्तर्ध्यान भएको उल्लेख छ। त्यसैले पनि यो मन्दिरलाई पौराणिक मन्दिर मानिन्छ।
नेपाल एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढीपछि खाँडादेवी, चिसापानी, तिल्केस्थान लगायतका स्थानमा सहायक गढीका रूपमा किल्ला बनाएका र अंग्रेजसँगका लडाइँ जित्न पृथ्वीनारायण शाहले खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति पाइन्छ।
सिन्धुलीगढीको लडाइँमा खाँडादेवीसँग बल पुकारा गरेर विजयप्राप्त गरेपछि पृथ्वीनारायण शाहले खाँडादेवीको शिलालाई काठमाडौँ लैजान खोजेकामा सेनाले कतै पनि नबिसाई लगेको शिलालाई साँगामा पुर्याएर बिसाउँदा दुई पटक अलप भएपछि पुनः तेस्रो पटक भक्तपुरको खोपीढुंगामा पुर्याएर बिसाउँदा शिला अलप भएर खाँडादेवीमा उत्पत्ति भएको भनाइ छ।
शिला लैजान नसकेपछि पृथ्वीनारायण शाहले कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवीदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका बलि दिनू भनी आदेश दिई पूजा चलाएको भनाइ छ। बडादसैँको नवमी र चैते दसैँको रामनवमीमा मन्दिरमा सरकारी पूजा हुने गर्दछ।
अघिपछि भन्दा दुई वटा दसैँको बेलामा मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या निक्कै हुने तामाङले बताए। मन्दिरमा भाकल गरेकाहरू बलि र पञ्चबलि लिएर आउने गर्दछन्। साउन महिना बाहेक ११ महिना यो मन्दिरमा बलि हुने गर्दछ।