कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु सेवन गर्दा एकै परिवारका दुई बालकको ज्यान गएको छ भने आमा र अर्को छोरा बिरामी परेका छन्।

चुरे गाउँपालिका–३ का ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वैशाख ३ गते मरेको कुखुराको मासु खाएपछि परिवारका चारै जना बिरामी परेका थिए। २८ वर्षीया आमा राधिका ताम्राकार र ३ वर्षीय छोरा दिपेश ताम्राकारको उपचार जारी रहेको छ। घटनाबारे प्रहरीलाई ढिला जानकारी दिइएको थियो, जसपछि सबैलाई उपचारका लागि धनगढी लगिएको थियो।

प्रारम्भिक अनुसन्धानमा उक्त मासु स्थानीय पोल्ट्री फार्मबाट ल्याइएको खुलेको छ। फार्म सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएर बयान लिएको छ भने आवश्यक पर्दा उपस्थित हुने सर्तमा आफन्तको जिम्मा लगाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।