मोरङ र सुनसरीको विभिन्न स्थानहरूबाट चैत्र २३ गते प्रतिबन्धित लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले देश भारत घर भई सुनसरीको धरान उप-महानगरपालिका-९ मा बस्दै आएका ३० वर्षीय विजय साह, धरान-९ का २७ वर्षीय निरन्जन यादव, धरान-१० का २५ वर्षीय विशेष राई र धरान-१७ का २६ वर्षीय निश्चल राईलाई धरान-९ बाट SPASMO PROXYVON-८० ट्याब्लेट, ट्रामाडोल १ हजार ४ सय ४० क्याप्सुल, NITRAZEPAM ७५ ट्याब्लेट र ESKUF ७ बोतल सहित नियन्त्रणमा लिएको हो।
यसैगरी, अस्थायी प्रहरी चौकी रेल्वेको प्रहरी टोलीले धरान-११ बाट २२ वर्षीय संजिव सुनुवार र १९ वर्षीय सविन परियारलाई TRAMOL-50 लेखिएको ४ सय ६० क्याप्सुल, नियन्त्रित औषधी स्पास्पेन ४ सय ६९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध ब्राउनसुगर २ ग्राम ८९ मिलिग्राम सहित धरान-५ का २६ वर्षीय दिवेश रम्तेल, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का २६ वर्षीय रहिस मन्सुरी र सुनसरीको इटहरी उप-महानगरपालिका-५ का ३२ वर्षीय सनम शेर्पालाई इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले पक्राउ गरेका हुन्।
यसका साथै सुनसरीको अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले धरान-१५ का एक बालकलाई उनकै घर छेउबाट नियन्त्रित औषधी COLIBAN ८ सय ५, क्याप्सुल र TRAMADOL ८ सय ५ क्याप्सुल सहित नियन्त्रणमा लिएको हो।
यस्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-५ स्थितबाट १९ वर्षीय सुजन शिवालाई ट्रामाडोल १ सय ६०ट्याब्लेट, स्पाष्मिड १ सय ६० क्याप्सुल सहित नियन्त्रणमा लिए सँगै बिक्री वितरणमा संलग्न मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का २९ वर्षीय सुमन गुरुङलाई ट्रामाडोल १ हजार १६ ट्याब्लेट र स्पाष्मिड ९ सय ८० क्याप्सुल सहित पक्राउ गरेको हो।
प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबै जनाको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भई रहेको छ।