सुनसरीको दुहबी नगरपालिका–३ मा एक व्यक्तिले आफ्नै श्रीमतीलाई पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएका छन्।
बिहीबार दिउँसो दुहबी–३, मुक्तिनाथ मन्दिर नजिक बस्ने ३३ वर्षीय मुस्तफा सेखले घरायसी विवादका क्रममा २८ वर्षीया श्रीमती खुस्बु खातुनको शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन्।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टोलीले खुस्बुलाई तत्काल उद्धार गरी उपचारका लागि दुहबीस्थित सामुदायिक अस्पताल पठाएको थियो।
सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित पारस अस्पताल लगिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्र खड्काका अनुसार घाइते खातुनको दुवै हात, घाँटी, छाती र अनुहार जलेको छ।
श्रीमतीलाई आगो लगाएको आरोपमा मुस्तफा सेखलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




















