संसारभर अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी बनाइँदै छ। नेपालमा पनि विविध कार्यक्रमहरू भइरहेका छन्।
तर वास्तविक मजदुरहरू श्रमिक दिवसका दिन पनि काममै व्यस्त छन्। उनीहरूको कथा, व्यथा र वास्तविकता बुझ्दा दिवस केवल उत्सव मात्र नभई संवेदनशील सामाजिक सवाल पनि हो भन्ने स्पष्ट हुन्छ।
सुनसरीस्थित रमपम उद्योगमा कार्यरत अशोक कुमार साह भन्छन्,‘गरिब मान्छेले गरेर खाने पेसा नै मजदुरी हो। नेपालमा मजदुरलाई पेलान हुन्छ। काममा मापदण्ड र सम्मान छैन। कसैले हामीलाई सम्मान गर्दैन, काम सक्दासम्म खटाइन्छ।’
उनले कामदारको योग्यताअनुसार मात्र काम दिनुपर्ने र समयमै पारिश्रमिक दिनुपर्नेमा जोड दिएका छन्। रमपम उद्योगको तर्फबाट उनले सम्पूर्ण मजदुरहरूलाई शुभकामना पनि दिएका छन्।
यस्तै, अनन्त इँटा उद्योगमा कार्यरत सरस्वती ऋषिदेव दैनिक तीन सय रुपैयाँमा काम गर्छिन्। उनको पारिश्रमिकले घर खर्च धान्नै मुस्किल हुन्छ। ‘जति पैसा कमाउँछु, त्यत्तिकै खर्च हुन्छ,’ उनी भन्छिन्। उनी मोरङको कर्सिया गाउँबाट सुनसरी आएर काम गरिरहेकी छन्। मजदुर दिवसमा समेत काम गर्नुपरेको उल्लेख गर्दै उनी भन्छिन्,‘काम नगरी खान पाइँदैन। हाम्रो लागि दिवस मनाउने भन्दा पनि पेट पाल्नुपर्ने बाध्यता बढी हो।’
ऋषिदेवको गुनासो श्रमिकहरूप्रति सरकारले गर्ने बेवास्ताप्रति पनि रहेको छ। मजदुरी गर्नलाई काम पनि नपाइने अवस्था रहेको उनले बताइन्।
सुदर्शन सेक्युरिटी इटहरीका सुरक्षा गार्ड विवेकराज चौधरीको धारणा स्पष्ट छ,‘काम सानो ठुलो हुँदैन। काम गरेरै मानिसले जीवन अघि बढाउँछ। तर यहाँ कामको सम्मान छैन,’उनी थप्छन्, ‘कामलाई इज्जत दिनुपर्छ। पढेको होस् या नपढेको सबैले कामलाई बराबर सम्मान गर्नुपर्छ। श्रमको कदर गरियो भने मात्रै देश समृद्ध बन्छ।’
उनले काम नै मानिसको जीवन रहेको स्पष्ट पारेका छन्। उनी थप्छन्,‘श्रमिकका लागि नेपालमा आवश्यक वातावरण नै रहेको छैन। अर्कोतर्फ श्रमको सम्मान पनि जरुरी रहेको छ।
यता, ट्रेड युनियन कांग्रेस, कोशी प्रदेशका सचिव उमानाथ आचार्य नेपालमा अझै पनि श्रमिकहरूलाई सुरक्षित कामको वातावरण, सामाजिक सुरक्षा, न्यूनतम ज्यालाको कार्यान्वयन जस्ता विषयमा समस्या रहेको बताउँछन्।
‘कानुन भए पनि कार्यान्वयनको पक्ष कमजोर छ।’ उनी थप्छन्,‘श्रमिकको आवाजलाई नीतिमा रूपान्तरण गर्न मजदुर दिवसलाई जागरण दिवसका रूपमा लिनुपर्छ।’
आचार्यले श्रमिकको न्यूनतम पारिश्रमिक कायम हुनुपर्ने, अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्धता गर्नका लागि सरकार लचिलो बन्नुपर्ने र उद्योगीहरूले समेत आबद्धता गराउनका लागि अग्रसर बन्नुपर्ने बताए। उनले भने, ‘उद्योगीले श्रमिकको प्रोत्साहन गरेमा आफ्नो उत्पादकत्व वृद्धि हुने कुरामा जोड दिनुपर्दछ।’
अन्तर्राष्ट्रिय मजदुर दिवस श्रमिकहरूको अधिकारको स्मरण मात्र नभई, उनीहरूको योगदानको कदर गर्ने दिन हो। तर वास्तविकता अझै पनि विभेद, अवमूल्यन र पीडामा आधारित छ। आजको दिन सरकार, नीति निर्माता, उद्योगपति र स्वयं नागरिकले आत्म मूल्याङ्कन गर्नुपर्ने समय हो। दिवस केवल बिदा होइन, श्रमिक सम्मानको चेतनाको दिन हो। श्रमिकका व्यवहारमा परिवर्तन ल्याउन सकियो भने मात्र यो दिवस सार्थक बन्न सक्छ।