सुनसरीबाट ७८३ किलो गाँजासहितको ट्रक र २ जना व्यक्तिलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बलको १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले बुधबार गाँजा सहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको हो।

धरान उपमहानगरपालिका–१३ निशाने डाँडास्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाई शंका लागि जाँच गर्दा उक्त परिणामको गाँजा बरामद भएको थियो। सो ट्रक खानतलासीको क्रममा ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो।

सशस्त्र प्रहरीले ट्रक चालक सुनसरीका ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटाका १८ वर्षीय आकाश राईलाई समेत नियन्त्रणमा लिइएको छ।