विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन्। 
कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई पनि आग्रह गरे। 
‘पूर्वाधार निर्माण भइसकेको समय भएकाले ढुक्कले लगानी गर्न सक्नुहुन्छ। लगानीका लागि सरकारका तर्फबाट कुनै समस्या पर्न दिइने छैन। कोशी प्रदेश पूर्वाधार विकास र सडक सञ्जालसँग जोडिएको छ। लगानी गरेर उत्पादन बजारमा लाने समयसम्म एसियाली स्तरको छ लेनको पूर्व–पश्चिम राजमार्ग बनाइ सक्छौँ। कच्चा पदार्थ पनि ल्याउन सक्छौँ। त्यस कारण हरेक क्षेत्रमा नयाँ नयाँ सम्भावनाहरूलाई पहिल्याउन सक्छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘देशमा सामान ल्याउन र लान कुनै हिसाबले रोकिँदैन। आफ्नो उत्पादनको बजार कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकामा लान सक्ने गरी बाटो बनिसकेको छ। विराटनगरसहित विभिन्न विमानस्थल विस्तार गरिने छ। सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका साथै सगरमाथासहित विभिन्न हिमाल र जडीबुटीहरूको थलो कोशीका जनता शिक्षित र मेहनती छन्। त्यस कारण पनि यहाँ लगानीको प्रचुर सम्भावना रहेको छ।’
प्रधानमन्त्री ओलीले उद्यमशीलता दशक मनाउन सकिए रोजगारी दशक सफल हुने उल्लेख गर्दै भने, ‘म युवाहरूलाई भन्न चाहन्छु, जागिरको खोजीमा नभौँतारिनुस्, उद्यमशीलतामा लाग्नुस्। त्यसका लागि सोच, तालिम र सहयोगमा सरकारले साथ दिन्छ।’ प्रधानमन्त्री ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ब्राण्डिङ गर्न आग्रह गर्दै ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्नेमा जोड दिए। 
प्रधानमन्त्री ओलले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मान्यताअनुसार श्रमको सम्मान दिन तथा रोजगारदाता र श्रमिकबीच संवादका साथै टे«ड युनियन अधिकारको रक्षाका लागि नेपाल सरकार स्पष्ट रहेको पनि लगानीकर्तालाई अवगत गराए। 
प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितले स्वागत गरेका थिए।