नेपाल चेम्बर अफ कमर्सले १ सय ३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिएको छ।
मे १ अथार्त अन्तर्राष्ट्रिय मजदुर दिवसको सन्दर्भमा शुभकामना सन्देशमार्फत चेम्बरले सम्पूर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको जनाएको छ।
श्रमिक वर्गको सुरक्षा, लगानीमैत्री वातावरण मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ। नेपालको संविधान २०७२ ले श्रम सम्बन्धी हकलाई पनि मौलिक हकका रूपमा व्याख्या गरेको भन्दै चेम्बरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।
श्रम सम्बन्धी ऐन नियमहरूमा समय सापेक्ष सुधार र संशोधन गर्नुपर्ने भन्दै चेम्बरले रोजगारदाता र श्रमिकबिचको पारस्परिक सम्बन्धले नै उत्पादन र उत्पादकत्व बढ्ने एवं समग्रमा दिगो आर्थिक विकास गर्न सकिने उल्लेख गरेको छ। 
चेम्बरले श्रमिकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन समेत सरकारसँग माग गरेको छ। चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ स्वास्थ्य सेवामा श्रमिकको पहुँच सहज बनाउनका लागि विशेष पहल हुन जरुरी छ।’
सरकार, निजी क्षेत्र र श्रमिक वर्गको संयुक्त पहलबाट मात्रै मुलुकमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना एवं उत्पादन वृद्धि मार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने चेम्बरले जनाएको छ।