रामेछापकी एक क्यान्सर पीडित बालिकाको उपचाराका लागि प्रहरी कर्मचारीले आर्थिक सहयोग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी कर्मचारीले मन्थली नगरपालिका–२ टेकानपुरकी ५ वर्षीया बालिका अनु श्रेष्ठको उपचारका लागि आर्थिक सङ्कलन गरी सहयोग गरेका हुन्। ती बालिकाको उपचारका लागि प्रहरी कर्मचारीको तर्फबाट ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको छ।
प्रहरी कर्मचारीबाट सङ्कलित रकम जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले बुधवार बिरामीका बाबु सुमन श्रेष्ठलाई हस्तान्तरण गरे। रकम हस्तान्तरण गर्दै सिंहले प्रहरीको तर्फबाट अझै सकेको सहयोग हुने बताए।
बालिकाको कान्ति बाल अस्पताल काठमाडौँमा उपचार भइरहेको छ। आफूसँग भएको रकम छोरीको उपचारमा सकेपछि थप उपचारको लागि आर्थिक सहयोगको अनुरोध गरिएको सुमनले बताए।
‘डाक्टरले सुरुकै स्टेज भएकोले रोग त निको हुन्छ भनेका छन्, तर खर्च धेरै लाग्ने भयो, आफ्नो आर्थिक हैसियतले नधान्ने भएपछि सहयोगको लागि सबैलाई अनुरोध गरेको हो, छोरी बचाउन निक्कै गाह्रो प¥यो’, उनले भने।