शिक्षामन्त्री रघुजी पन्तसहित मन्त्रालयका उच्च पदस्थ अधिकारी र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ। 
मन्त्रालयमा भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले अहिलेसम्मको छलफल सकारात्मक दिशामा अगाडि बढेको बताएका हुन्।  
उनले भने, ‘हाम्रो छलफल जारी छ। अहिलेसम्मको छलफल सकारात्मक दिशामा अगाडि बढेको छ। छिटो भन्दा छिटो यो सहमति टुङ्ग्याएर अगाडि बढ्ने हाम्रो प्रयत्न छ। हामी यसलाई साझा सहमतिका आधारमा टुङ्ग्याउने मैले विश्वास लिएको छु। हामी शिक्षकहरूसँग वार्तामा छौँ। त्यो वार्ता सकारात्मक ढङ्गले अगाडि बढेको छ। सम्भव भएसम्म हामी त्यसलाई छिटो टुङ्ग्याउने छौँ  सरकारको तर्फबाट।’
साथै उनले छिटो भन्दा छिटो यो शिक्षकहरूको मागलाई टुङ्ग्याएर सरकार अगाडि बढ्ने प्रयत्न गरिरहेको बताए। उनले साझा सहमतिका आधारमा शिक्षकहरूको माग टुङ्ग्याउने बताए।