राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हाम्रो  धर्म र संस्कृति बचाउनुपर्ने समय आएको बताएका छन्। गण्डकी कोटिहोम ज्ञान महायज्ञमा बोल्दै उनले पछिल्लो समय हाम्रो संस्कारमाथि, हाम्रो परम्परामाथि धावा बोलिँदै गएको बताएका हुन्।
उनले भने, ‘हाम्रो संस्कारमाथि, हाम्रो परम्परामाथि धावा बोलिँदै गएको छ। अब धर्म बचाउन, परम्परा बचाउन, माता सिताको जन्मभूमि बचाउन, ३३ कोटिदेवी देवताको वासस्थान जोगाउनका लागि एउटा महापुरुषको जन्म हुन आवश्यक छ। किनभने यो पृथ्वी सनातनको देश हो। आज छोरी चेलीहरू बलात्कृत भएका छन्। केही मान्छेहरूले यो देशमा धर्म संस्कार हुँदैन भने त्यसैको परिणाम हाम्रो छोरीचेलिहरुले भोग्नु परेको छ। हामीले  हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ। ’
साथै  उनले हाम्रो देश, हाम्रो भूमि सन्सारभरिलाई नै उज्यालो ज्योति छर्ने भूमि भएको बताए। उनले आज यही भूमिमा कसैले धर्म संस्कारको कुरा गर्दा त्यसलाई नङ्ग्याउनुपर्छ भनेर नेपालका मिडिया, प्रशासनहरू लाग्ने गरेको बताए।
उनले भने, ‘यो हाम्रो देश, यो हाम्रो भूमि सन्सारभरिलाई नै उज्यालो ज्योति छर्ने भूमि हो। आज यही भूमिमा कसैले धर्म संस्कारको कुरा गर्‍यो भने त्यसलाई नङ्ग्याउनुपर्छ भनेर नेपालका मिडिया, प्रशासनहरू लाग्छन्। विदेशी धर्मको पूजाआजा गर्दा विभिन्न किसिमका नक्कली प्रचार गर्छन्।’