काम गर्नको लागि धेरै रकम र ठुलो ठाउँ भन्दा पनि रचनात्मक सोच चाहिन्छ। रचनात्मक सोच भयो भने थोरै पैसा र सानो ठाउँमा पनि राम्रो काम गर्न सकिन्छ।
त्यसको उदाहरण रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा देखिएको छ। मन्थली नगरपालिका–८ चिसापानीका वडाध्यक्ष गोपाल श्रेष्ठको रचनात्मक सोचले फोहोर फाल्ने ठाउँ अहिले बालउद्यान बनेको छ।
वडा कार्यालय अगाडिको ठुलो पँधेरो छेउको खाली जग्गामा त्यतिकै फोहोर थुप्रिएको थियो। वडा कार्यालय अगाडिकै जमिनमा फोहोर थुप्रिएपछि त्यसलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा वडाध्यक्षले सोचे। सोच आयो बालउद्यान बनाउने।
मन्थली नगरपालिका बालमैत्री शासन सञ्चालन भएको नगरपालिका बन्ने तयारी गरिरहेको बेला त्यसको लागि पनि सहयोग पुग्ने, फोहोर फालिएको जग्गा पनि सदुपयोग हुने। सोही सोचले मूर्तता पाएपछि ठुलो पँधेरो माथिको खाली जग्गामा बन्यो बालउद्यान।
पँधेराको छेउमा खाली रहेको ठाउँमा अहिले बालबालिकाहरूलाई खेल्नको लागि पिङ राखिएको छ। पिङसँगै चिप्लेटी पनि राखिएको छ। जहाँ फुर्सदको बेलामा बालबालिकाहरू खेलेर रमाउने स्थानीय शान्ता श्रेष्ठ बताउँछिन्। ‘सानो ठाउँमा पनि खेल्ने ठाउँ बन्यो, ठाउँको सदुपयोग भयो, बच्चालाई पनि रमाइलो गर्ने ठाउँ भयो’, उनले भनिन्।
बाल उद्यानको केही काम भएपनि अझै पँधेरा माथि फूल रोप्ने, क्यारी बनाउने लगायतका काम बाँकी रहेको वडाध्यक्ष गोपाल श्रेष्ठ बताउँछन्। त्यस्तै बालबालिकालाई बस्नको लागि केही बेञ्चहरू पनि राखिने उनले जानकारी दिए।
ठुलो पँधेरो विगतमा चिसापानीवासीले पानी खाने मुख्य पँधेरो हो। अहिले घर घरमा लिफ्ट खानेपानीको धारा पुगेपछि सो पँधेरोमा पानी लिन जानेको सङ्ख्या घटेको छ। विगतमा रात–दिन पानी भर्न जाने मानिसहरू जाने सो पँधेरोको छेउमा गाग्री बोकेको प्रतिमा राखिएको उनले बताए। ‘बालबालिकालाई रमाउने र आराम गर्ने ठाउँको लागि बालउद्यान बनाएका हौँ, विगतमा चिसापानीका मानिसहरू पानीको समस्याले रातभरि सुत्दैनथे, ठुलो पँधेरोमा पानी भर्ने पालो पर्खिएर बस्थे, त्यसैले विगतमा पुर्खाहरूले गरेको दुःख सम्झाउन र बालबालिकालाई धारा, पँधेराको महत्त्व दर्साउन सो प्रतिमा पनि राखेका हौँ’, उनले भने।