धनकुटा र सुनसरीबाट लागूऔषध गाँजा बोकेको २ वटा सवारीसाधनसहित ओसारपसारमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
वैशाख १५ गते राती विशेष सूचनाको आधारमा धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले चौबिसे गाउँपालिका-५ स्थितबाट ना.५ख ६१५७ नम्बरको ट्रकमा लोड भएको अवस्थामा ३८ बोरा (९ सय ४६ किलोग्राम) गाँजा बरामद गरेको हो। गाँजा बरामद भएसँगै ट्रक र ओसारपसारमा संलग्न रहेका चौबिसे गाउँपालिका-५ का मनोज लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी, विशेष सूचनाको आधारमा सुनसरीको इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरी गस्ती टोलीले बर्जू गाउँपालिका-३ स्थितबाट प्र.१-०२-००२ च ५१२६ नम्बरको पिकअप गाडीमा ६ बोरा (१ सय ९९ किलो ३ ग्राम) गाँजा फेला पारे सँगै ओसार पसारमा संलग्न चालक धनकुटा नगरपालिका-९ उद्धव भण्डारी र सहचालक सोही स्थानका कविराज राईलाई नियन्त्रणमा लिएको छ।
गाँजा बोकेको २ वटा सवारी साधन सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ।