सुनसरीको धरानबाट चोरी भएको यात्रुबाहक बस विराटनगरमा भेटिएको छ।

शुक्रबार बिहान धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित ग्यारेजबाट चोरी भएको प्रदेश १–०२–००१ को ९७४९ नम्बरको बस चार दिनपछि विराटनगर महानगरपालिका–१२ मंगलबारेमा भेटिएको हो।

ग्यारेजबाट हराएको बस पार्टपुर्जा निकालिएको अवस्थामा मंगलबार दिउँसो विराटनगरमा भेटिएको हो। बसका मालिक हरेन्द्र चेम्जोङ हुन्।

प्रहरी स्रोतका अनुसार विराटनगर-१२ मा राखिएको बसको पार्टपुर्जा भने विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाममा फेला परेको छ।

मंगलबार दिउँसो मंगलबारेमा बेवारिसे अवस्थामा बस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बस चोरी गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पहाडी रुटमा चल्ने बसको अगाडिको सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ।