नेपालका इँटा उद्योगहरूलाई व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यले कोरिया र नेपालका विभिन्न संस्थाहरुबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। 
रिजर्भ कार्बन कम्पनी लिमिटेड, कोरिया वेस्टर्न पावर कम्पनी लिमिटेड, एनएच इन्भेस्टमेन्ट एण्ड सेक्युरिटीज कम्पनी लिमिटेड, आइएनएनओ सिएसआर कम्पनी लिमिटेड र स्थानीय नगरपालिका, नेपाल निर्माण व्यवसायी सङ्घ, व्यक्तिगत इँटाभट्टा र वातावरणमैत्री निर्माण सामग्री उत्पादक सङ्घ नेपाल बीचको आधिकारिक समझदारी पत्र हस्ताक्षर भएको हो। 
मङ्गलवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उक्त कम्पनीहरू बीच आधिकारिक समझदारी पत्रमा हस्ताक्षर भएको हो।
यो सम्झौता पत्रले नेपालमा कम कार्बन उत्सर्जन गर्ने वातावरणमैत्री इँटा उत्पादनको लागि अन्तर्राष्ट्रिय न्यूनीकरण परियोजना सहकार्यमा एक महत्त्वपूर्ण कोसेढुङ्गा बन्ने अपेक्षा गरिएको छ। 
यस्तो समझदारीले कम कार्बन भएका इँटा उत्पादन प्रविधिहरूमा सङ्क्रमणलाई सहज बनाउन, दिगो निर्माण अभ्यासहरूलाई प्रवर्द्धन गर्न र विश्वव्यापी जलवायु प्रतिबद्धताहरूमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। वातावरणमैत्री इँटा उद्योगहरूको स्थापनामा कोरियन कम्पनीहरूले सहयोग गर्ने जनाएका छन्।