एलओडी क्लबका निर्देशक भुपेन कुँवरले कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई यहाँसम्म ल्याइ पु¥याएको बताएका छन् ।
सोमबार साँझ ठमेलस्थित एलओडी क्लबले विश्वकै ४४ औँ उत्कृष्ट बनेको अवसरमा आयोजित उत्सवमा उनले एलओडीले यो ठाउँमा जग गाडेर ६ वटा वसन्त पार गरिसकेको भन्दै यसमा कर्मचारीको ठुलो भूमिका रहेको बताए।
उनले भने, ‘यो क्लबको मेरुदण्ड भनेको यहाँका कर्मचारीहरू हुनुहुन्छ। उहाँहरू नभए आज हामी यसरी तपाइहरूको अगाडि उभिन सक्दिन थियौँ । उहाँहरूको मेहनत र जाँगरले हामीलाई तपाईँहरूको अगाडि उभिन सफल बनाएको छ। क्लबमा एक सय ५० जना भन्दा बढी कर्मचारीहरू छन् ।’
यस्तै, उनले क्लबको पहिलो प्राथमकिता एक पटक आइसकेका पाहुनालाई पुनः फर्काउनु र पाहुनाहरूलाई सुरक्षित राख्नु भएको बताए।
उनले भने, ‘हामी यहाँ आउने सबै पाहुनालाई एकै नजरले हेर्छौ। यहाँको आतिथ्यताले पुनः ती पाहुनाहरू फर्केर आउनुहोस् भनेर सम्मान गरेर पठाउँछौ। हामी नेपाली समाजदेखि टाढा छैनौ। हामी पनि यहीँ समाजका नागरिक हौँ। हामीप्रति कोही पनि नकारात्मक नभइदिनु होला। हामीले विशुद्ध व्यवसाय गरेका हौँ। हाम्रो तर्फबाट राज्यलाई गर्नुपर्ने दायित्व पुरा गरेका छौँ।’
रात्रिकालीन व्यवसायका धेरै चुनौती रहेको कुँवरले सुनाए। क्लबप्रति हाम्रो मुलुकमा वा नेपाली समाजमा सकारात्मक धारणा बन्न नसकेको उनले गुनासो गरे। क्लब जाने मानिस बिग्रने विकृति ल्यायो जस्ता धारणा बन्ने गरेको उनले दुःखे सो पोखे।
निर्देशक कुँवरले एलओडी क्लबले क्लबप्रतिको धारणालाई कता–कता चिर्न सकेको दाबी गरे। जहाँ क्लब जानु भनेको नराम्रो मानिने समाजमा हाम्रो जीवन रहेको उनको बुझाइ छ।
उनले विचार र नियत राम्रो भए जहाँसुकै पनि राम्रो भइने धारणा व्यक्त गरे। उनले भने, ‘नियत खराब भए त कसको के लाग्छ र ? आज म दाबीको साथ भन्छु परिवारसहित क्लब आउने वातावरणको सुरुवात एलओडीले बनाएको भन्दा फरक नपर्ला,’ उनले अगाडि थपे,’ यहाँ परिवारसहित आएर आनन्दले नाचेर मनोरञ्जन गर्न सक्नुहुन्छ। अहिले काठमाडौँ आउने देशी तथा विदेशी पाहुनाहरूको पहिलो लिस्टमा एलओडी प्राथमिकतामा पर्न थालेको छ। यो मुलुकका लागि गौरवको विषय बनेको छ।’
व्यवसायमा आउनु ठुलो कुरा होइन आएपछि आइपुगेको ठाउँमा कसरी टिक्न सकिन्छ त्यो महत्त्वपूर्ण रहेको उनको बुझाइ छ।
उनले संविधानलाई सधैँ शिरोधार्य गरेको र नेपाली समाजदेखि टाढा नपुगेको बताए। क्लबमा आन्तरिक सजावटका लागि नयाँ स्वरूपमा बदल्न लागिएको छ। नयाँ सिट व्यवस्थापन भइसकेको छ। लाइट, म्युजिक सिस्टम र होल इन्जिनियरिङ डिजाइन परिवर्तन गर्ने योजना रहेको कुँवरले प्रस्ट पारे।