यही मे ३, ४, ५ (वैशाख २० देखि २२ सम्म) मा काठमाडौँमा हुन गइरहेको गैरआवासीय नेपाली सङ्घ९एनआरएनए०को एकता महाधिवेशनको लागि विभिन्न देशहरूबाट डेलिगेट्स (प्रतिनिधि) हरू नेपाल आउने क्रम जारी छ।
मङ्गलवार युरोपका विभिन्न देशबाट अन्तर्राष्ट्रिय सम्मेलन एवम् एकता महाधिवेशनमा भाग लिने डेलिगेट्सहरु नेपाल आइपुगेका छन् ।
सोही क्रममा एनसीसी इटलीको पूर्वअध्यक्ष छविलाल कँडेलले एकताको महाधिवेशन एनआरएनएमा एउटा नयाँ आयाम प्रदान गर्ने भन्दै एनआरएनएलाई पहिलाको अवस्थामा पुर्याउन पनि भूमिका खेल्ने बताए।
उनले भने, ‘मे ३, ४, ५ मा हुन गइरहेको गैरआवासीय नेपाली सङ्घको एकता महाधिवेशनमा भाग लिन इटलीबाट यहाँ आएको छु। एकताको महाधिवेशनले एनआरएनमा एउटा नयाँ आयाम प्रदान गर्ने छ। विगतमा जुन विसङ्गतिहरू थिए, एनआरएनएलाई पहिलाको अवस्थामा पुर्याउन यो अधिवेशनले पक्कै पनि भूमिका खेल्ने छ।’
त्यस्तै एनआरएनएको नेता आरके शर्माले संस्थालाई एकता र न्यायसम्मत तरिकाले अगाडि बढाउनुपर्ने भन्दै एकता महाधिवेशन कुनै पनि हालतमा रोकिन नहुने बताए।
उनले भने, ‘एनआरएनएको एकताको महाधिवेशन कानुनी मान्यतालगायत विभिन्न पाटोले गर्दा ढिला भएपनि अहिले छोटो समयमा सम्मेलन सम्पन्न गर्न सदस्यहरू आउनु भएको छ। संस्थालाई एकता र न्यायसम्मत तरिकाले अगाडि बढाउनुपर्छ। अधिवेशन कुनैपनि हालतमा रोकिनु हुदैँन, समयमा नै हुन्छ।’
एकता महाधिवेशनमा करिब ३२ सय डेलिकेट्सले सहभागिता जनाउने अनुमान गरिएको छ। तर डा।बन्द्री केसी समूहले भने महाधिवेशन रोक्नुपर्ने माग राख्दै आएको छ।