नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग सरकारमा जाँदा गरेको प्रतिबद्धता कांग्रेसले कायम नै राख्ने बताएका छन्।
सोमबार काठमाडौँमा नेपाली कांग्रेस पार्टी उद्योग तथा व्यापार विभागले आयोजना गरेको बजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने भन्दै नयाँ ढङ्गले काम गर्नेतर्फ सोच्नुपर्ने बताए।
उनले भने,‘हामी जोखिम उठाउन तयार छौँ। यस्तो कुराहरूमा हाल गरिरहेको काम भन्दा फरक ढङ्गले गर्नुपर्छ। कम्फर्ट जोनबाट बाहिर आएर काम गर्नुपर्छ। नयाँ ढङ्गले सोच्नुपर्ने छ। नेपाली कांग्रेस अहिले नेकपा एमालेसँग सरकारमा छ। पार्टीको तर्फबाट प्रतिबद्धता र समर्थन छ। अहिलेको प्रतिबद्धताका आधारमा तलमाथि गर्न लाग्दैनौँ। यसलाई तीव्र रूपमा अगाडि बढाउँछौँ तर यो समयको प्रयोग गर्न चाहन्छौँ। सरकार बस्नको लागि मात्र भएर भएन, काम गर्नुपर्छ। परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ। रिजल्टमा काम गर्न चाहन्छौँ। ’
त्यस्तै उनले सरकारले हात हालिरहेका थुप्रै ठाउँहरूमा राम्रो परिणाम नआएको भन्दै परिणाम नआउने ठाउँमा हात हाल्न छाड्नको लागि सुझाव दिए।
उनले भने,‘खास गरेर अब समय आयो। जुन हामीले कम्र्फटजोनमा बसेर काम गर्यौँ। अब यसरी गरेर हुँदैन। कतिपय नयाँ सन्दर्भमा जानुपर्ने हुन्छ। सरकारले हात हालिरहेका थुप्रै ठाउँहरू छन्। जसमा सरकारले हात हाल्दा राम्रो परिणाम आएको छैन। ती ठाउँमा हात हाल्न छाडिदिए हुन्छ।’