नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष २०८२/८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्।
सोमबार कांग्रेस पार्टी उद्योग तथा व्यापार विभागले आसन्न बजेटको सन्दर्भमा गरेको बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस वर्षको बजेटमा डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने गरी नीति तथा कार्यक्रमहरू तयार हुने र निजी क्षेत्रले उठाएको सवाललाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे। 
उनले भने,‘ मलाई विश्वास छ यस वर्षको बजेटमा डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने गरी नीति तथा कार्यक्रमहरू तयार हुने छन्। मलाई विश्वास छ आर्थिक वर्ष २०८२–८३ को बजेटले निजी क्षेत्रले उठाएको सवालाई सम्बोधन गर्ने छ। आर्थिक क्षेत्रलाई थप चलायमान गराउने छ भन्ने विश्वास व्यक्त गर्दछु।’
त्यस्तै उनले देशलाई आर्थिक समृद्धिसहित अगाडि बढाउनका लागि सरकारसँगै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने धारणा राखे।
स्थानीय उत्पादनलाई प्रोत्साहन, मौलिक सीपहरूको प्रवर्द्धन र उद्यमशीलतालाई वृद्धि गरेर मुलुकमा रोजगारी बढाउन आवश्यक रहेको उनको भनाइ छ। 
उनले भने,‘देशलाई आर्थिक समृद्धिसहित अगाडि बढाउनका लागि सरकारसँगै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यस कार्यक्रममार्फत निजी क्षेत्रलाई निर्धक्क भएर लगानी गर्नका लागि अनुरोध गर्दछु। स्थानीय उत्पादनलाई प्रोत्साहन गरी, मौलिक सीपहरूको प्रवद्र्धन गरी उद्यमशीलतालाई वृद्धि गरेर मुलुकमा रोजगारी बढाउन आवश्यक छ।’