आर्थिक अनिश्चितता र संयुक्त राज्य अमेरिकासँग बढेको तनावका कारण क्यानडाको सङ्घीय चुनावको मत परिणाममा परिवर्तन हुने देखिएको छ।
चुनावमा हालका प्रधानमन्त्री मार्क कार्नी नेतृत्वको लिबरल पार्टी, मुख्य विपक्षी कन्जर्भेटिभ पार्टी आफ्नो अस्तित्व जोगाउने कसरतमा छन्। अन्य पार्टीहरुले पनि सोही अनुसारको गतिविधि गरेकाले परिणाममा ठुलै उथलपुथल हुने अनुमान गरिएको छ।
वर्षको सुरुमा, पियरे पोइलिभ्रेको नेतृत्वमा रहेको कन्जरभेटिभहरूले सर्वेक्षणमा बीस अङ्कभन्दा बढीको अग्रता लिएका थिए। तर अमेरिकी व्यापार विवादको बीचमा जस्टिन ट्रडोलाई प्रतिस्थापन गर्दै मार्क कार्नीले लिबरल पार्टीलाई अब जित्ने सम्भावना देखिएको छ। यद्यपि पछिल्ला सर्वेक्षणहरूले प्रतिस्पर्धा कडा हुने देखिएको छ।
टोरन्टो मेट्रोपोलिटन युनिभर्सिटीका डेमोक्रेटिक इन्गेजमेन्ट एक्सचेन्जका निर्देशक जोन बीबेले क्यानडामा अभूतपूर्व चुनाव हुने अनुमान गरिन्। ‘विगत केही महिनामा हामीले देखेको जस्तो छिटो र नाटकीय रूपमा एउटा राजनीतिक दल र अर्को राजनीतिक दलको भाग्य कहिल्यै उल्टिएको छैन। यो एक अभूतपूर्व चुनाव हो, किनकि हामी अभूतपूर्व समयमा बाँचिरहेका छौँ,’ बीबेले भनिन्।
मतदाताहरूले कन्जरभेटिभ वा लिबरल दुवै पक्षमा आफ्नो समर्थन बढाउँदै जाँदा क्यानडाका अन्य प्रमुख दलहरूको समर्थन घट्दै गएको सर्वेक्षणहरूले देखाएका छन्।
संयुक्त राज्य अमेरिकासँगको ट्यारिफ विवाद र क्यानडाको सार्वभौमिकतामाथि बढ्दो चिन्ताको पृष्ठभूमिमा परिणाम फरक पर्ने अनुमान गरिएको छ।
ट्रम्पले क्यानडामाथि आर्थिक दबाब बढाएका बेला र उनले क्यानडालाई अमेरिकाको ५१ औँ प्रान्त बनाउने विचारसमेत अनेकौँ पटक सार्वजनिक रूपमा व्यक्त गरेकाले त्यसको प्रभाव चुनावमा पर्ने निश्चित देखिएको छ। ट्रम्पको अभिव्यक्ति क्यानडाको राजनीतिमा राष्ट्रियतावादी भावनालाई बलियो बनाइदिएको छ।
क्यानडामा आज अर्थात् अप्रिल १८ मा ३४३ संसद् छनौट गर्न देशभरि एकैसाथ सङ्घीय संसद् हाउस अफ कमन्सको चुनाव भइरहेको छ।