नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले शिक्षा ऐन सम्बन्धी बनेको उपसमितिमा भइरहेको कामको बारेमा सरकार र शिक्षा मन्त्रालयले शिक्षकहरूलाई र सिङ्गो देशलाई जानकारी गराउन माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा उनले उपसमितिमा भइरहेको कामको बारेमा शिक्षामन्त्रीले संसद् मार्फत सिङ्गो देशलाई जानकारी गराउनु पर्ने बताएका हुन्।
उनले भने, ‘यो सदनमा शिक्षामन्त्रीले पनि विषयवस्तु राख्नुपर्छ, उहाँले यो संसद् र संसद् मार्फत सिङ्गो देशलाई जानकारी गराउनु पर्छ। शिक्षा उपसमिति जुन गठन भएको छ त्यहाँ सबै पक्षको सर्व सहमतिमा एकसरो हिसाबले सबै दफामा छलफल भइरहेको छ र अब केही छलफल जारी रहेका विषयलाई टुङ्गाउने क्रममा काम भइरहेको छ। उपसमितिमा भइरहेको कामलाई सरकार र शिक्षा मन्त्रालयले शिक्षकहरूलाई र सिङ्गो देशलाई जानकारी गराउनु पर्छ।’
यस्तै, उनले वैशाख १४ गते भएको घटना दुख लाग्दो भएको भन्दै प्रहरी र शिक्षक दुवै पक्षले धर्यताका साथ आफ्नो काम गर्नुपर्ने बताए।
उनले भने, ‘हिजो भएको घटनाप्रति म दुख व्यक्त गर्न चाहन्छु। यस्तो घटना नुहुनु पर्ने थियो। प्रहरीहरू र शिक्षकहरू पनि राष्ट्र सेवक हुन्, राष्ट्र सेवकहरू माथि यो खालको आन्दोलनको नाममा गरिने व्यवहार गर्नु उचित होइन। म शिक्षकहरूलाई आफ्ना घोषित कार्यक्रम अनुसार नै सरकार, संसद्, समाज र सिङ्गो देशको जुन ध्यानाकर्षण गराई रहनु भएको छ त्यो प्रक्रियालाई नै अगाडि आग्रह गर्न चाहन्छु र सुरक्षाकर्मीहरूलाई पनि संयम भएर काम गर्न आग्रह गर्न चाहन्छु।’