सुनसरीमा गएरातिको हावाहुरी र वर्षाले मकैखेती र आँपखेतीमा ठूलो क्षति गरेको छ।
सुनसरी सदरमुकाम इनरूवासहित देवागञ्ज, भोक्राहा, बराहक्षेत्र, हरिनगरलगायतका क्षेत्रमा गरिएको मकैखेती र आँपखेतीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए।
जिल्लाको विभिन्न ठाउँमा सघन र व्यावसायिक रूपमा मकैखेती गरिँदै आइएको छ। भित्र्याउने बेलामा हावाहुरीसँगै वर्षाले मकैखेतीमा क्षति पुर्याएको उनले जानकारी दिए। मकै भित्र्याउने बेलामा हावाहुरी र वर्षाले बिरूवा खेतमै रहेको, मकैमा लागेको फूल झरेको, फलसमेत खसेका कारणले ठूलो नोक्सानी भएको छ। त्यसैगरी, आँपमा समेत क्षति भएको उनले जानकारी दिए।
आँपमा चिचिला लागेका बेलामा हावाहुरीसहित आएको पानी र चट्याङबाट नोक्सानी भएको उनले बताए। त्यसैगरी, लौका, काँक्रा, करेला, परवल, बोडीलगायत लहरे तरकारी बालीमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीले जनाएको छ।
गएराति हावाहुरीसँगैको वर्षाका कारणले सुनसरीमा कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलन गर्ने कार्य भइरहेको छ।