कुनै बेला घरायसी सामान किनमेल र भेटघाटको केन्द्रका रूपमा रहेका हाटबजारको रौनक हराउँदै गएको छ।
बिहानदेखि नै मानिसहरूको भिडभाड हुने हाटबजार बिस्तारै सुस्ताएका छन्। हाटबजारमा किनमेल गर्ने मानिसहरूको सङ्ख्या घट्दै गएपछि बिक्री गर्न आउनेहरूको सङ्ख्या पनि न्यून हुँदै जान लागेको छ।
किसानले आफूले उत्पादन गरेको सामान बिक्री गर्ने र घरमा आवश्यक दैनिक उपभोग्य सामान खरिद गर्ने मुख्य थलो थिए विगतमा हाटबजारहरू । अहिले हात हातमा मोबाइल र गाउँ गाउँमा सडक पुगेपछि हाटबजारको महत्त्व घटेको छ।
रामेछापमा पुरानो सदरमुकाम रामेछाप बजारमा लाग्ने बिहीबारे हाट, मन्थली बजारमा लाग्ने सोमबारे हाट, धोबी बजारमा लाग्ने बुधवार हाट, साँघुटार बजारमा लाग्ने शनिबारे हाट निक्कै चर्चित हाट थिए। ती हाटहरूमा बिहानदेखि मानिसहरूको भिडभाड हुने गर्दथ्यो। दिउँसो पनि अबेरसम्म हाट लाग्थ्यो।अहिले हाटमा किन्ने र बेच्ने दुवै खालका मानिसहरू कम भएका रामेछापको साँघुटारका माधव ढकाल बताउँछन्। ‘अलिअलि हाट त लाग्दै छ, तर पहिलाको जस्तो छैन, बेच्ने मानिसहरू पनि कम आउँछन्, किन्ने पनि कम नै आउँछन्’, उनले भने।
गाउँ गाउँमा सडक पुगेका कारण किसानले गाउँमा गरेको उत्पादन घरबाटै बिक्री हुन्छ। गाउँमा चाहिने दैनिक उपभोग्य सामान पनि घरमा नै झर्छ त्यसले हाटको महत्त्व घट्दै गएको छ।
रामेछापको सदरमुकाम समेत रहेको मन्थलीमा लाग्ने हाटमा समेत मानिसहरूको सङ्ख्या घटेको छ। हाटमा स्थानीय उत्पादन न्यून मात्रै आउन लागेको छ। तराइबाट आउने तरकारीले मन्थलीको हाट भरिन लागेको छ। गाउँ बाझिँदै जानु र किसानले गरेका उत्पादन घरबाटै बिक्री हुनुले पनि हाटमा किसानहरू आफ्ना उत्पादन बिक्री गर्न आउनै छाडेका छन्।
रामेछापको सबैभन्दा ठुलो हाट रामेछाप बजारको हाटमा पनि क्रेता र बिक्रेताको सङ्ख्या कम हुँदै गएको छ। तथापि रामेछापमा तिज, दसैँ, तिहारलगायत पर्व अगाडि लाग्ने हाटमा अझै निक्कै भिडभाड हुन्छ। सो हाटमा गेडागुडी तथा खसी, बोका किन्ने र बेच्ने मानिसहरू बाक्लै जाने गर्दछन्।
अहिले स्थानीय व्यापारीले किसानका उत्पादन सङ्कलन गरेर केही नाफा लिई हाटमा सामान बिक्री गर्न लागेका छन्। जसले गर्दा हाटका सामान समेत महँगा हुने उपभोक्ताको गुनासो छ। सोझै किसानबाट सामान किन्दा सस्तो हुने भए पनि बिचमा नाफा खाएर बिक्री गर्नेसँग सामान किन्नु पर्दा महँगो हुने उपभोक्ताको भनाइ छ।
सामान सङ्कलन गर्नुपर्यो, गाडीमा हालेर ल्याउनुपर्यो, सामान सङ्कलन गर्न जाँदा, हाटमा बेच्न ल्याउँदा र बेच्नको लागि कुर्दा आफ्नो पनि श्रम खर्च हुने भएकोले केही नाफा लिएर बेच्नु परेको व्यापारीहरू बताउँछन्।