लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्त ठाकुरले नेपाली जनता पहिलेदेखि नै आतङ्कबाट पीडित रहँदै आएको बताएका छन्।
लोसपाको जनकपुरधामस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले नेपाली जनता निरङ्कुश राणा शासन तथा राजतन्त्रको आतङ्कबाट पहिलेदेखि नै गुजरीसकेको बताएका हुन्।
यद्यपि उनले राजतन्त्र समाप्त भएपछि पनि मधेसी जनता राज्यको आतङ्कबाट पीडित रहँदै आएको भन्दै हामी सबै आतङ्कवाद विरुद्धको लडाइँमा एक हुनु आवश्यक रहेको बताए।
भारतको कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणको चर्चा गर्दै उनले मधेसी जनता अहिले पनि आतङ्कबाट मुक्ति पाउन नसकेको बताए।
उनले धर्म र जातको आधारमा ताकेर निर्दोष पर्यटकहरूलाई आतंकवादीहरुले हत्या गरेकोमा आक्रोश व्यक्त गरे। ठाकुरले नेपालमा पनि धर्म र जातको बाजा बजाउनेहरू बजाइरहेको र यसले नेपाललाई कल्याण नगर्ने बताए।
उनले भने,‘नेपालमा पनि हिन्दु राष्ट्रको माग उठिरहेको छ, हिन्दु राष्ट्र बनाउनु ठुलो कुरो होइन तर के हिन्दु राष्ट्र बनाउँदैमा पशुपतिनाथको लड्डु आफै घर–घरमा पुग्छ र ?’
नेपालमा विभिन्न धर्म र जातका व्यक्तिहरू बसोबास गर्छन् सबैको विकास भए मात्रै नेपालको विकास सम्भव रहेको उनले बताए।
उनले कार्यक्रममा आफ्ना नेता तथा कार्यकर्ताहरूलाई पार्टीलाई सुदृढ बनाउने अभियानमा समेत लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए।