नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शान्तिपूर्ण रूपमा आन्दोलनमा बसिरहेका शिक्षकहरूमाथि सरकारले दमन गरेको बताएका छन्।
सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले शिक्षकहरूका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ भन्दै प्रश्न गरेका हुन्।
उनले भने, ‘शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ। हिजो मात्रै शान्तिपूर्ण शिक्षकहरूको आन्दोलनमा सरकारले दमन गर्‍यो। शान्तिपूर्ण रूपमा बसिरहेको शिक्षकहरूमाथि पानीको फोहोरा, अश्रुग्याँस, लाठ्ठि प्रहार गरेर दर्जनौँ शिक्षकहरू घाइते हुनुभएको। पत्रकार सविना कार्की गम्भीर घाइते हुनुभएको छ। यस्तो अवस्था किन सिर्जना भइरहेको छ ? सरकारले शिक्षकहरूका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ यसको म भर्त्सना गर्न चाहन्छु, खेद प्रकट गर्न चाहन्छु।’  
साथै, उनले शिक्षा ऐनलाई परिवर्तन गर्नुपर्थ्यो, पाठ्यक्रम परिवर्तन गर्नुपर्थ्यो तर त्यो नभइरहेको बताए। उनले राज्यले नै ऐन बनाएर दिनुपर्ने कुरामा आज शिक्षकहरू हामीलाई ऐन देऊ भनेर माग्न आइरहेको सन्दर्भमा उनीहरूको मागलाई सम्बोधन गरेर जायज मागहरूलाई पुरा गरेर जानुको सट्टा सरकार मूकदर्शक बनिरहेको बताए 
उनले भने, ‘संविधान निर्माणसँगै हामीले नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्दथ्यो। आजको विकास, आजको देशको आवश्यकता, आजको टेक्नोलोजी प्रयोग गर्ने गरी शिक्षा ऐनलाई परिवर्तन गर्नुपर्थ्यो, पाठ्यक्रम परिवर्तन गर्नुपर्थ्यो तर त्यो भइरहेको छैन। आज पुराना ऐन र कानुनहरूले आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा बाधा अड्चन भइरहेको छ। राज्यले नै ऐन बनाएर दिनुपर्ने कुरामा आज शिक्षकहरू हामीलाई ऐन देऊ भनेर माग्न आइरहेको सन्दर्भमा उनीहरूको  मागलाई सम्बोधन गरेर जायज मागहरूलाई पुरा गरेर जानुको सट्टा मूकदर्शक बनिरहेको छ।’