नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवका छोरा भाटभटेनीमा भएको लुटपाटमा संलग्न रहेको असत्य अभिव्यक्ति दिएको भन्दै तरुण दल सिरहाले गोलबजारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गरेको छ।
आज अपराह्न गोलबजार चोकमा एकत्रित भएका तरुण दलका युवाहरूले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए। उनीहरूले पूर्व पश्चिम राजमार्ग समेत केही समयका लागि अवरुद्ध बनाएका थिए। 
लिङदेन विरुद्ध चर्का नाराबाजी गर्दै तरुण दल समर्थित युवाहरूले संसद् भवनमा झुटा बयान दिएर नेपाली कांग्रेसका एक प्रतिष्ठित नेताको बदनाम गर्ने काम गरेको भन्दै आक्रोश पोखेका थिए। तरुण दलका युवाहरू लिङ्देनको पुतला दहन गर्दै कोण सभा पनि गरेका थिए। तरुण दलका नेता अरविन्द मण्डलको नेतृत्वमा सो विरोध कार्यक्रम भएको थियो।