नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षक आन्दोलनप्रति सरकार टाउको लुकाएर बसेको टिप्पणी गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लाखौँ विद्यार्थीको भविष्य र अभिभावकको पीडामाथि सरकार सुतुरमुर्गजस्तो टाउको लुकाएर बस्नु दुःखद भएको बताएका हुन्।
उनले भने, ‘लाखौँ विद्यार्थीको भविष्य र अभिभावकको पीडामाथि सरकार सुतुरमुर्गजस्तो टाउको लुकाएर बस्नु दुखद हो। शिक्षकले पनि आफ्नो दायित्व बुझ्न जरुरी छ। सरकारको निर्णयबाट पूरा हुने माग तत्काल र निश्चित समय सीमाभित्र ऐन जारी गर्ने प्रतिबद्धता संविधानसँग जोडिएका विषय संशोधनमा प्राथमिकता दिने गरी सहमतिबाट तत्काल समाधान निकालियोस्। नत्र यसको गम्भीर परिणामको जिम्मेवार सरकार नै हुनेछ।’
साथै उनले शिक्षकले पनि आफ्नो दायित्व बुझ्नुपर्ने बताए। उनले सरकारको निर्णयबाट पूरा हुने माग तत्काल पूरा गर्ने र निश्चित समय सीमामा ऐन जारी गर्ने गरी सहमतिमार्फत निकास निकाल्न आग्रह गरे।