राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले मेटालाई सात दिनमा दर्ता नभए बन्द गर्ने चेतावनी नदिई समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेको छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले कानुनमा भएका उल्झनलाई समाधान नगरी चेतावनी दिनु लज्जास्पद भएको बताएका हुन्।
उनले भने, ‘हाल फेसबुक बन्द हुने की नहुने भन्ने चर्चा अलिकति धेरै नै व्यापक छ। तर मुख्य कुरा प्रष्ट छ मेटा नेपालमा दर्ता हुनैपर्छ। आज फेसबुक, मेसेन्जर सबै सामाजिक सञ्जाल नेपाली जनताको सञ्चार,चाहना, उद्योग र अभिव्यक्तिको आधार बनेको छ। त्यसैले मेटालाई नेपालमा दर्ता गराउनुपर्छ। विदेशी कम्पनीहरूले नेपालको कानुन र नीतिलाई सम्मान गर्नुपर्छ भन्ने कुरामा कुनै पनि दुई मत छैन। तर हाम्रो कानुन र नीतिमै उल्झनहरू छन् भने सो को समाधान नगरी चेतावनी मात्रै दिने हो भने त्यो लाजमर्दो हुन्छ। मेटा अन्य देशमा दर्ता भइरहँदा नेपालमा किन तर्किरहेको छ। यसको गहिरो छानबिन होस्। यो मेटासँगको वार्ता केवल कम्पनीसँगको मात्रै वार्ता होइन यो त सिङ्गो नेपालको डिजिटल भविष्य बारे अन्तर्राष्ट्रिय जगतलाई दिने सन्देश हो। त्यसैले सरकारले संयमता, गम्भीरता र कूटनीतिक कौशल प्रदर्शन गरोस्। एक दिन सात दिनको धम्की शैली त्यागेर दीर्घकालीन सोच र व्यवहारिक उपाय अगाडि सारोस्। डिजिटल युगलाई अपनाउने हो भने युगसँगै सिक्नुपर्छ युगलाई तर्साएर होइन।’
साथै उनले सरकारले धम्की दिएर होइन, समाधानको बाटो खोजेर मेटालाई नेपालमा दर्ता गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए। केही दिन अघि सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मेटा ७ दिनभित्र नेपालमा दर्ता नभए बन्द गर्ने चेतावनी दिएका थिए।