नेकपा (माओवादी केन्द्र) का सांसद गंगा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा निकम्मा, असक्षम, लाछी र बदनाम रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारलाई एक मिनेट पनि शासन गर्ने छुट नरहेको बताएका हुन्।
उनले भने, ‘ शिक्षकलगायतको जायज माग पूरा गर्न र शिक्षकहरूलाई विद्यालय फर्काउन सरकारसँग म जोडदार माग गर्दछु। आज सरकारको असक्षमताले सबै क्षेत्रमा अस्तव्यस्तता र आन्दोलन भइराखेको छ। ओली सरकारमै रहेका महत्त्वपूर्ण नेताहरूले सार्वजनिक रूपमै यो सरकार असफल भएको र राजीनामा दिनुपर्छ भनिरहेका छन्। चौतर्फी असफलताको घेराबन्दीमा परेको इतिहासकै सबैभन्दा निकम्मा, असक्षम, लाछी र बदनाम ओली सरकारलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिकता छैन।’
साथै उनले सरकारले शिक्षकहरूको माग सम्बोधन गर्न तयार नहुँदा देशभरका बालबालिकाले पढ्न नपाइरहेको बताए। उनले लाखौँ विद्यार्थीको भविष्यमाथि ओली सरकारले जानाजानी खेलबाड र मजाक गरिराखेको बताए।