ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय सापेक्षित कानुनहरू निर्माण गर्ने काममा लागिपरेको बताएका छन्।
बिहीबार भविष्य निर्माण: नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै उनले समय सापेक्षित कानुनहरू निर्माण गर्ने र छिटोछरितो काम गर्न उत्साहित गर्ने भनेर सरकार लागेको बताएका हुन्।
उनले भने, ‘हामीहरू सरकारमा छौँ। समय सापेक्षित कानुनहरू निर्माण गर्ने र छिटोछरितो काम गर्न उत्साहित गर्ने भनेर सरकार लागेको अवस्था छ। त्यसका लागि कुन कानुनहरू बाधाको रूपमा देखिएको छ अनुभूति भएको कुराहरू भन्नुहोला त्यसमा संशोधन गर्नेछौँ। सबै समयसापेक्षित बनाउनुपर्छ।
त्यस्तै उनले धेरै आयोजनाहरू सुरु गरेर रोजगारी सृजना गर्ने र उद्योग धन्दाहरुलाइ चलायमान बनाउने कुरामा सरकारको ध्यान गएको पनि बताए।
उनले भने,‘एउटा आयोजना मात्रै हामीले सुरु गर्यौँ भने रोजगारीकै अवसरहरू धेरै मिल्छ। बुढी–गण्डकी आयोजना सुरु गर्यौँ भने १७ हजारले रोजगारी पाउँछन्। त्यसमा ४० प्रतिशत इन्जिनियरकै आवश्यकता हुन्छ। यस्ता थुप्रै आयोजनाहरुसुरु गर्नुपर्नेछ। त्यसले राजस्व वृद्धि हुने उद्योगधन्दाहरू चलायमान हुने हुन्छ । साना पसलदेखि रोजगार सृजना हुने आयोजनाहरूमा लाग्नुपर्ने आवश्यकता छ।’
अब ढिला गर्ने छुट कसैलाई नभएको भन्दै उनले तीव्र गतिमा काम अगाडि बढाउन लाग्नुपर्ने धारणा राखे।