नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख पुष्पा भुसालले संविधान कार्यान्वयनमा धेरै चुनौतीहरू देखा परेको बताएकी छन्।
बिहीबार उनले संविधान कार्यान्वयनमा देखा परेका चुनौतीहरूलाई व्यवस्थापन गर्नको लागि सबै पार्टीहरू एक ठाउँमा खडा हुनुपर्ने बताएकी हुन्।
उनले भनिन्, ‘संविधान कार्यान्वयनमा जुन चुनौतीहरू देखा परेका छन् त्यसलाई व्यवस्थापन गर्न सबै पार्टीहरू एक ठाउँमा खडा हुनुपर्ने अवस्था छ। दुई ठुला पार्टीहरू मिलेर बनेको गठबन्धनको सरकारको जुन परिकल्पना र प्राथमिकता थियो त्यो ओझेलमा परेको छ। जनताका विषयवस्तु ओझेलमा परिरहेका छन् ।’
साथै उनले लोकतन्त्रले गर्दा आम नेपाली जनताहरूले जुन आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र परिवर्तन खोजेका हुन् त्यो केही हदसम्म पूरा भएको बताइन्। उनले अझै पनि नयाँ पुस्ताले चाहे अनुसारको परिवर्तन देशमा प्राप्त गर्न नसकिएको बताइन्।
उनले भनिन्, ‘आज हामी लोकतन्त्र दिवस मनाइरहँदा लोकतन्त्रको उपलब्धिलाई एउटा राजनीतिक रूपान्तरणका रूपमा लिएका छौँ। जसले मुलुकलाई एउटा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरायो। र अर्कोतिर द्न्द्लाई समाप्त गरेर शान्तितिर मुलुकलाई प्रवेश गरायो। यो हाम्रो उपलब्धि हो। संस्थागत गर्नका लागि संविधान पनि बन्यो, समावेशी प्रतिनिधित्व पनि भयो तर आम नेपाली जनताहरूले जुन आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र परिवर्तन खोजेका हुन् त्यो केही हदसम्म मात्र उपलब्धि भएको छ। अहिलेका नयाँ पुस्ताले प्राप्त गर्नुपर्ने परिणामहरू प्राप्त गर्न सकेका छैनन्। पिछडिएका महिलाहरू जुन राजनीतिक, सांस्कृतिक, आर्थिक र सामाजिक उपलब्धिहरू हासिल गर्नुपर्नेमा केही चुनौतीहरू देखा परेको छ।’