नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले हाल केन्द्रकृत शासन भइरहेकाले असन्तुष्टि बढेको र देश विकास हुन नसकेको बताएका छन्।
बिहीबार लोकतन्त्र दिवसका अवसरमा डा.कोइरालाले आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रममा उनले नेताहरूकै कारण समस्या बढिरहेको औँल्याए। उनले केन्द्रमा रहेको पावर तल्लो तहसम्म दिन नचाहेको कारण वा केन्द्रकृत शासन रहेकै समस्या बढेको बताए। उनले वडा–वडासम्म बजेट र अधिकार विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता रहेको औँल्याए।
उनले भने,‘अहिले हामीले संविधान पाएको छौँ। दश वर्ष भइसक्यो यसलाई समीक्षा गरेर के के परिवर्तन गर्ने हो गर्नुपर्छ। वडासम्म अधिकार विकेन्द्रीकरण गर्नुपर्छ। सबै केन्द्रीकृत अधिकार भयो भने त केन्द्रको त राजा शासन भइहाल्यो नि। त्यसैले साँच्चिकै जनताको अधिकार जनतामा दिने हो भने विकेन्द्रीकरण गरेर गाउँसम्म पुर्याउन जरुरी छ। नेताहरूको दिमागमा अझै पनि केन्द्रकृत छन्। उनीहरू चाहँदैनन् आफ्नो पावर दिनलाई। उनीहरू कुरा बुझ्दैनन्। बजेट पनि मध्यम वर्गलाई पनि छुने किसिमको छैन। केन्द्रकृत शासनमा कसरी देश विकास हुन्छ ?’
त्यस्तै, उनले सङ्घ, प्रदेशमा केन्द्रले कुनै पनि किसिमको हस्तक्षेप गर्न नमिल्ने धारणा राखे। लोकतन्त्रको सफल कार्यान्वयनको ठुलो जिम्मेवारी थपिएको भन्दै दुई वटा ठुला दलले मिलेर नेतृत्व गरिरहँदा पनि कार्यान्वयन गरेन भने प्रश्न चिन्ह खडा हुने उनको भनाइ छ।
उनले भने,‘हामी विकेन्द्रीकरणमा गएका छौँ। हाम्रो सात वटा प्रदेश छन्। सबैको आफ्नो आफ्नो अधिकार छ। उनीहरूको आफ्नै बजेट हुन्छ। उनीहरूको आफ्नै कार्यक्रम हुन्छ, आफ्नै सङ्गठन हुन्छ तर हस्तक्षेप केन्द्रबाट गर्नुहुन्छ। अनि कसरी विकास हुन्छ। अर्को कुरा लोकतन्त्र त आयो यसको सफल कार्यान्वयनको पक्षमा काँधमा ठुलो जिम्मेवारी छ। दुई वटा ठुला दलले नेतृत्व गरिरहेको छन्। यसले पनि गरेन भने त प्रश्न चिन्ह आउँछ नि।’
उनले आउने पुस्तालाई सङ्घीय, लोकतन्त्र भनेको के भन्ने विषयमा प्रशिक्षण दिनुपर्ने बताउँदै उनीहरू प्रशिक्षित भए भने भविष्यमा यसले निरन्तरता पाउने धारणा राखे।
डा. शशाङ्कको चियापानमा अर्थपूर्ण सहभागिता
लोकतन्त्र दिवसका अवसरमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शंशाक कोइरालाले महाराजगन्जस्थित आफ्नै निवासमा चियापान आयोजना गरेका छन्।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको चहलपहल सुरु भइरहेको अवस्थामा डा.कोइरालाको चियापानलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
डा.शशाङ्कको चियापानमा नेता कृष्ण सिटौँला, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, विमलेन्द्र निधि, महेश आचार्य, पुष्पा भुसाल, दीपक खड्का, एनपी साउदलगायतका नेताहरू उपस्थित भएका थिए।