शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थी भर्ना अभियानसँगै सामुदायिक विद्यालयमा देखिने विद्यार्थी र अभिभावको बाक्लो भीड यो वर्ष कर्णालीका सामुदायिक विद्यालयमा देखिएको छैन। कर्णालीमा नाम चलेका सामुदायिक विद्यालयहरू यति बेला सुनसान छन्। शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्नालगायतका शैक्षिक गतिविधि ठप्प हुँदा विद्यालयमा कुनै चहलपहल देखिँदैन। जसको कारण विद्यार्थीको पठनपाठनमा असर पुग्ने देखिएको छ। 
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै २२ दिनदेखि शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा गए पछि विद्यालयका शैक्षिक गतिविधि ठप्प भएका हुन्। नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भइरहेको शिक्षक–कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयले भर्ना अभियान रोकेको छ। जसले गर्दा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु हुन सकेको छैन। शिक्षकहरूको आन्दोलनले भर्ना अभियान प्रभावित बनेको जन नमुना माध्यमिक विद्यालय (जनमावि) विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले बताए। 
सरकारले शिक्षकहरूका माग सम्बोधन गरेर निर्वाधरूपमा विद्यालयका गतिविधि सञ्चालन हुने वातावरण बनाउनुपर्ने प्रधानाध्यापक श्रेष्ठको भनाइ छ। उनले भने, ‘शिक्षा ऐन जारी गर्नुपर्छ, सरकारले ऐन जारी गरेर विद्यालयका गतिविधि अघि बढाउने बाटो खोल्नुप¥यो, होइन भने विद्यालयका गतिविधि अनिश्चितकालसम्म रोकिनेछन्।’
अहिले भर्ना अभियान रोकिँदा अभिभावक र विद्यार्थीमा अन्योलता छाएको छ। तर शिक्षकहरूको जायज माग पूरा गर्नका लागि विद्यालयले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएको श्रेष्ठले बताए। यद्यपि, विद्यालयका लागि आवश्यक पर्ने पाठ्यपुस्तक व्यवस्थापन र अन्य तयारीका काम भने गरिसकेको उनको भनाइ छ।
शिक्षक महासङ्घको आन्दोलनलाई समर्थन गर्दै वीरेन्द्रनगरस्थित अमरज्योति नमुना माध्यमिक विद्यालयले समेत भर्ना अभियान रोकेको छ। आन्दोलनका कारण सरकारले तोकेकै मितिमा भर्ना अभियान गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले बताए। ‘हामीले अबको चार÷पाँच दिन विचार गर्छौँ, नभए विद्यालय खोल्नुको विकल्प छैन, सरकारले शिक्षकका माग छिट्टो सम्बोधन गर्नुपर्छ, दैनिक पाँच सय जना अभिभावकले चासो राखेर फोन गरिरहनुभएको छ। विद्यार्थी र अभिभावक अन्योलमा हुनुहुन्छ, सरकारले शिक्षकका माग सम्बोधन गर्नुपर्छ’ उनले भने।
सुर्खेतको बराहताल गाउँपालिका–८ को भट्टेघारीमा रहेको भैरव आधारभूत विद्यालयमा पनि भर्ना अभियान सुरु भएको छैन। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर हमालका अनुसार आन्दोलनका कारण शिक्षकहरू विद्यालयमा नआएपछि भर्ना अभियान प्रभावित बनेको छ। 
बराहताल गाउँपालिका–४ स्थित भेरी माध्यमिक विद्यालयले सूचना जारी गर्दै भर्ना अभियान सञ्चालन नहुने बताएको छ। कर्णालीमा दुई हजार ९८३ सामुदायिक विद्यालय छन्, जहाँ ११ हजार ८६५ शिक्षकको दरबन्दी छ। पाठ्यपुस्तक, शिक्षक र भौतिक पूर्वाधारको अभाव झेल्दै आएको कर्णालीमा आन्दोलनले थप समस्या निम्त्याएको छ।
पाठ्यपुस्तक गोदाममै थन्किए 
सामुदायिक विद्यालयमा भर्ना अभियान रोकिए पछि अधिकांश विद्यालयले पाठ्य पुस्तक पनि खरिद गरेका छैनन्। सामुदायिक विद्यालयका पाठ्यपुस्तक छपाइदेखि वितरणसम्मको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका अनुसार कर्णालीका १० वटै जिल्लामा ७० प्रतिशतभन्दा बढी पुस्तक पुगिसकेको जनाएको छ। जिल्लास्थित बिक्रेताहरूबाट विद्यालयहरूले पाठ्यपुस्तक खरिद नगर्दा गोदाममै थन्किएका छन्।