प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई यत्रो आक्रमण, बदनाम गर्न खोज्नेहरूकै बिचमा पनि पार्टी टिकेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले सिध्याउँछु भन्नेहरूकै अगाडि अहिले पनि एमाले देशको सबैभन्दा लोकप्रिय पार्टीको रूपमा स्थापित भएको बताएका हुन्।
उनले भने, ‘दुई तिहाइमा पुगेको पार्टीलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौ एमालेलाई भनेर, एमालेमै पसेर अगाएका किर्नाजस्ता टुम्म टुम्म भएकाहरू एमालेलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौ भन्दै हिँडे। यत्रो आक्रमण, यति धेरै बदनाम गर्न खोज्दा पनि हामी टिकेका छौँ । जनताका बिचमा गएका छौँ। जनताको विश्वास जितेका छौँ। अहिले पनि नेकपा एमाले देशको सबैभन्दा लोकप्रिय पार्टीको रूपमा स्थापित छ। सिध्याउँछु भने पनि सबैभन्दा लोकप्रिय पार्टीको रूपमा अहिले पनि अगाडि छौँ। सिध्याउँछु भन्दैमा नेकपा एमाले सिद्धिन्नेवाला छैन। पार्टीको महान् उद्देश्यप्रतिको लिडरसिपको धैर्यता, पार्टीपङ्तिको दृढताको कारणले एमाले सिधिँदैन।’
साथै उनले कम्युनिष्ट पार्टीलाई एकताबद्ध हुन नदिने षड्यन्त्र भइरहेको बताए। उनले पार्टी भित्रबाटै विरोधीलाई सहयोग पुग्ने गरी बोल्ने गरेको भन्दै आपत्ति जनाए।
उनले भने, ‘विरोधीहरूले खुब सङ्गठित ढङ्गले घेराबन्दी र हमला गर्छन्। हाम्रै साथीहरूले पनि कताकता यतिकै विरोध भएको छ त भन्ने कताकता भ्रममा सामेल हुने गरी बोल्ने गरेको पाइएको छ। गाली खानका लागि कुनै गल्ती गर्नुपर्दैन भन्ने उदाहरण गल्ती गर्नेहरूले, अपराधीहरूले समाज बिगार्नेहरूले, राष्ट्रलाई नोक्सान पार्न खोज्ने तत्त्वहरूले राम्रो काम गर्नेहरूलाई नै सबैभन्दा चर्को गरी घेराबन्दी गर्ने काम गरिरहेका छन्। यसमा विभिन्न प्रकारका तत्त्वहरू सामेल भइरहेका छन्।’